देश

प्रहरीको भेषमा युवती अपहरण, ३ जना पक्राउ

धनगढी, भदौ २४–नक्कली प्रहरी बनेर मध्यरातमा युवतीको अपहरण गर्ने तीन जनालाई कैलाली प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका(१६ का २९ वर्षीय लोकेन्द्र खडायत, सोही ठाउँका २१ वर्षीय अनिल राना र २२ वर्षीय सन्दीप राना छन् । कैलाली प्रहरीका अनुसार २१ भदौ राती १२ बजे धनगढीको जाखोर ताल नजिककी १६ वर्षीय युवतीलाई उनीहरूले घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलाली लैजानुपर्ने भन्दै घरबाट निकालेर अन्यत्रै लगेका थिए ।

प्रहरीले उनीहरूलाई राती नै पक्राउ गरी युवतीको उद्धार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले बताए । १६ वर्षीय युवतीको स्वास्थ्य परीक्षण गरी आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ । उनीहरू विरुद्ध अपहरण, शारीरिक बन्धक र जवरजस्ती करणी अभियोगमा मुद्दा दर्ता गरिएको प्रहरी नायव उपरीक्षक बस्नेतले बताए ।

Featured