राजनीति

सरकार संस्थागत भ्रष्टाचारमा लागे पनि पार्टी नेतृत्व चुप लागेर बस्यो : कोइराला

काठमाडौं, भदौ २४–नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकार संस्थागत भ्रष्टाचारमा लागे पनि प्रमुख प्रतिपक्षी कांग्रेसको नेतृत्व चुप लागेर बसेको आरोप लगाएका छन् । बीपीको १०६औं जन्मजयन्तीको अवसरमा ‘जननायक बीपी कोइराला स्मृति ट्रस्टले मंगलबार आयोजना गरेको बीपी साहित्य सम्मान र बीपी सेनानी सम्मान कार्यक्रममा नेता डा. कोइरालाले सरकारको कमजोरी पार्टी नेतृत्वले हेरेर बसेको आरोप लगाएका हुन् ।

‘सरकार वाइड बडी, सुन काण्ड, बालुवाटार जग्गालगायतका भ्रष्टाचार काण्डमा संस्थागत ढंगले संरक्षणमा लागेको छ’, उनले भने, ‘अख्तियार र न्यायालयलाई सरकारले निरीह बनाएको छ । राष्ट्रिय परिचयपत्र बनाउन ५ अर्बभन्दा बढी भ्रष्टाचार भएको छ ।’ सरकारले आर्थिक अनियमिततादेखि गणतन्त्र र संघीयतालाई असफल बनाउन खोजेको आरोप लगाउँदै उनले भू–माफियालाई पोस्ने गरी ल्याइएको भूमिसम्बन्धी विधेयकमा समेत सरकारले बदमासी गरेको आरोप लगाए ।

कोइरालाले कांग्रेसको नेतृत्वको अघि कार्यकर्ता बोल्न नसक्ने र मुखमा ताल्चा लगाएको अवस्थामा पुगेको भन्दै कार्यकर्ताको आलोचना सुन्न नसक्ने नेतृत्वले पार्टीको नियमावलीमा समेत नेतृत्वको आलोचना गरे अनुशासनको कारबाही गर्ने प्रावधान राखेर अलोकतान्त्रिक चरित्र देखाउन खोजेको आरोप लगाए ।

‘कांग्रेसका कार्यकर्ताको मुखमा यति बेला ताल्चा लागेको छ । मेरो मुखमा ताल्चा लागेको छैन तर मेरो मुखमा नेतृत्वले कहिले ताल्चा लगाउने हो, ठेगान छैन’, पार्टी नेतृत्वप्रति अनसन्तुष्ट नेता कोइरालाले भने, ‘तपाईंहरूले पनि टाउको माथि अनुशासनको तरबार झुण्डिएको छ ।’ पार्टीमा व्यक्तिवादी चरित्र हावी भएको, स्वार्थी त्याग्न नेतृत्वले नसकेको, जातीयता र साम्प्रदायिकतामा रमाउने गरेको तथा इशारामा कार्यकर्तालाई चलाउन खोजेर स्वाभिमानी कार्यकर्ताको मनोबल गिराएको आरोप उनले लगाए ।

कार्यक्रमका प्रमुख अतिथि डा. कोइरालाले सो अवसरमा बीपी साहित्य सम्मानबाट नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति वैरागी काइँलालाई सम्मान गरे भने बीपी सेनानी सम्मानबाट सप्तरीका मधुकान्त सिंह सम्मानित भए । काइँलालाई १ लाख नगदसहितको कदर पत्र र सिंहलाई ५० हजार नगदसहित कदरपत्रले सम्मान गरिएको थियो । ट्रस्टका महासचिव रामचन्द्र पोखरेलले ट्रस्टले आफ्नै भवन बनाउन राजधानीमा ६ आना जग्गा खरिद गरेको जानकारी दिए ।

Featured