देश

हत्याको सुपारी लिएर भक्तपुर पुगेका सुटर पेस्तोलसहित पक्राउ

काठमाडौं, भदौ २४–भक्तपुर प्रहरीले लोड गरेको पेस्तोलसहित एक जना सुटरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको फेटा गाउँपालिका घर भएका शम्भुप्रसाद साह रहेका छन् । उनलाई महानगरीय प्रहरी वृत्त जगातीका प्रमुख डीएसपी चक्रराज जोशीको टोलीले भक्तपुरको सूर्य्विनायक नगरपालिका– ९ भातेढिकुरबाट सोमबार राति पक्राउ गरेको हो ।

डीएसपी जोशीका अनुसार साह व्यक्तिहत्याको सुपारी लिने सहमतिअनुसार भक्तपुर पुगेको देखिन्छ । ‘कसैको हत्या गर्ने र मोटो रकम लिने मनशायले साह भक्तपुर पुगेको देखिन्छ,’ उनले थपे, ‘उनलाई व्यक्ति हत्याको सुपारी कसले दिन लागेको थियो भन्ने अनुसन्धान भइरहेको छ ।’ प्रहरीले समयमै सूचना पाएर पक्राउ गर्न सफल भएका कारण हत्याको सम्भावना टरेको जोशीको भनाइ छ । प्रहरीले उनको साथबाट एक थान लोड गरेको कटुवापेस्तोल र झोलामा बोकेको थप ५ राउण्ड गोलीसमेचत बरामद गरेको छ ।

प्रहरीका अनुसार साह सोमबार साँझ भक्तपुरको एक होटलमा बस्ने र हत्या गर्नुपर्ने मान्छेको रेकी गर्ने तथा त्यसको अर्को दिन हत्या गर्ने योजनासहित आएको खुलेको छ । उनीमाथि थप अनुसन्धान भइरहेको भक्तपुर प्रहरीले जनाएको छ ।

Featured