देश

साइबर अपराध र मानव बेचबिखन रोकथाम प्रहरीको प्राथमिकतामा : खनाल

काठमाडौं, भदौ २४–साइबर अपराध र मानव बेचबिखन नेपाल प्रहरीको पहिलो प्राथमिकता रहेको प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको भनाइ छ । मंलगबार काठमाडौं प्रहरीका तीनवटा भवनको शिलान्यासपछि नेपाल पुलिस क्लबमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले साइबर अपराध र मानव बेचबिखनका घटना रोकथामका लागि कटिबद्ध भएर लाग्न मातहतका अधिकारीहरूलाई निर्देशन दिए ।

त्यस्तै, विभिन्न देशमा अपराध गरेर नेपालमा लुकेर बस्छु भन्ने सपनाले कुनै देशका नागरिक नेपाली भूमि प्रयोग गर्छन् भने त्यो उनीहरूको भ्रम मात्र हुने खनालको भनाइ थियो । उनले टेकुस्थित महानगरीय अपराध महाशाखा, भद्रकालीस्थित काठमाडौं प्रहरी परिसरको कार्यालय र भृकुटीमण्डपमा रहेको पुलिस क्लबको भवनको शिलान्यस गरेका हुन् । सरकारले अपराध महाशाखा र काठमाडौं परिसरका लागि १ अर्ब ९६ करोडको लागतमा टेकुस्थित आयल निगमको जग्गा र भद्रकालीको जग्गा खरिद गरेको थियो ।

तीनवटै भवन दुई वर्ष्भित्र बनिसक्ने खनालकोे भनाइ छ । भवन निर्माणका क्रममा कुनै पनि लापरबाही नगरी निर्माण कम्पनीसँग समयसीमाभित्रै सक्ने गरी सहमति हुने खनालको दाबी छ । २०७२ सालको भूकम्पले काठमाडौं प्रहरी बस्दै आएको हनुमानढोकामा क्षति पुगेपछि काठमाडौं प्रहरी टेकुस्थित नेपाल आयल निगमको भवनमा त्रिपालमुनि बस्दै आएको थियो ।

Featured