देश

दसैं नजिकिँदै गर्दा यातायात व्यवसायीले गरे दुई निर्णय

काठमाडौं, भदौ २३–दसैंमा सार्वजनिक सवारी व्यवस्थापन गर्न यातायात व्यवसायी छलफलमा जुटेका छन् । दसैं, तिहार तथा छठमा लाखौं मान्छे ओहोर–दोहार गर्छन् । चाडपर्वमा सार्वजनिक सवारीमा यात्रुको चाप व्यवस्थापन गर्न भन्दै यातायात व्यवसायी छलफलमा जुटेका हुन् ।

नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका महासचिव सरोज सिटौलाका अनुसार अहिले व्यवसायी आन्तरिक छलफलका क्रममा छन् । व्यवसायीले यसअघि एक चरण यातायात व्यवस्था विभागसँग पनि चाडपर्वमा सवारी साधन व्यवस्थापनको विषयमा छलफल गरिसकेका छन् ।

पोखरामा बैठक बसिरहेका व्यवसायीले छलफल सकिएपछि विभागसँग अन्तिम छलफल गर्ने बताएका छन् । आन्तरिक छलफलका क्रममा व्यवसायीले गाडी भाडा बढाउनुपर्ने आवाज उठाएको सिटौलाले बताए । सार्वजनिक सवारीले २०६९ देखिको भाडा लागू गरिरहेको बताउँदै सिटौलाले भने, ‘गाडीका पार्ट पुर्जाको भाउ बढेको छ । सडकको अवस्था बेहाल छ । त्यही भएर हामीले यातायात व्यवस्थाविभागसँग गाडी भाडा बढाउनुपर्ने माग राख्ने निर्णय गरेका छौं ।’

उनका अनुसार विभागसँग ग्रामीण क्षेत्रका सडक सुधार गर्न तथा सार्वजनिक सवारीको भाडा बढाउन माग गर्ने निर्णय भएको छ । व्यवसायीले हरेक वर्ष चाडपर्वको मुखमा गाडी भाडा बढाउनुपर्ने माग राख्ने गर्छन् । व्यवसायीको यस्तै मागले चाडपर्वमा यात्रुलाई सकस हुने गर्छ । चाडपर्वको लागि अग्रिम टिकट बुकिङ कहिले खुल्छ भन्नेबारे अहिल्यै केही भन्न नसिकने बताउँछन सिटौला । विभागसँगको छलफलपछि मात्रै टिकट बुकिङ कहिले खुल्ला गर्ने भन्नेबारे निर्णय हुने उनले बताए ।

यस वर्षको चाडपर्वका लागि भनेर नयाँ गाडी नथपिने पनि सिटौलाले जानकारी दिए । सिटौलाका अनुसार सरकारले सार्वजनिक सवारीलाई प्राईभेट लिमिटेडमा दर्ता हुन निर्देशन दिए पनि प्रष्ट नीति नबनाएका कारण व्यवसायीले नयाँ गाडी खरिद गरेका छैनन् ।

Featured