देश

हुलाकी सडकसम्बन्धी विवाद समाधान

धनगढी, भदौ २३–कैलालीमा लामो समयदेखि बसन्ता जैविक मार्गक्षेत्रका रुखले अवरुद्ध हुलाकी सडकको विवाद समाधान भएको छ । वन मन्त्रालयले हुलाकी राजमार्ग आयोजनाको धनगढीस्थित योजना कार्यालयलाई त्यस क्षेत्रका १ सय २१ वटा रुखहरू काट्न अनुमति प्रदान गरेसँगै समस्या समाधान भएको हो ।

तराईका जिल्लाहरू जोड्ने ‘लाइफ लाइन’ का रूपमा परिभाषित हुलाकी राजमार्गअन्तर्गत पूर्व–पश्चिम राजमार्ग निर्माणको काम १२ वर्षअघि शुरू भएको हो । शुरूमा भारत सरकारले निर्माण थालेको उक्त राजमार्गअन्तर्गत कैलालीका केही स्थानमा विवाद देखिएपछि भारत सरकारले हात झिक्यो र नेपाल आफैंले बनाउन थाल्यो ।

कैलालीमा मुख्य गरी बसन्ता क्षेत्रमा रहेका १ सय २१ वटा रुखहरू बाधक बनेका थिए । तर, आयोजनाको कार्यालयले केही दिनअघि मात्रै केन्द्रबाट रुख कटानीका लागि अनुमति पाइसकेको हुलाकी राजमार्ग आयोजना योजना कार्यालय धनगढीका इन्जिनियर पदम मडैले बताए ।

पहिलो पटकको सम्झौता अवधि सकिएपछि उक्त सडकअन्तर्गत अहिले चैतसम्म म्याद थपेर काम भइरहेको छ । कैलाली कञ्चनपुरमा सडकको विवाद सबैतिर समाधान भइसकेकाले अब चैत्रभित्रै काम सम्पन्न गरिसक्ने उनको दाबी छ ।

हुलाकी सडकअन्तर्गत कैलाली कञ्चनपुरमा पर्ने विभिन्न ५ वटा पुलको काम पनि लामो समयदेखि अलपत्र परेका थिए । अहिले भने ४ वटा पुलको काम सम्पन्न भइसकेको र कान्द्रा पुलको बाँकी काम सन्तोषजनक रूपमा अघि बढेको मडैको भनाइ छ ।

हुलाकी सडकअन्तर्गत कैलाली कञ्चनपुरमा हालसम्म १ अर्ब ७० करोड बजेट खर्च भएको छ । हुलाकी राजमार्गका लागि चालू आर्थिक वर्षमा ४५ करोड बजेट विनियोजन गरिएको र थप ५० करोड माग गरेर काम सम्पन्न गर्ने योजनामा आयोजना कार्यालय रहेको छ । कैलालीको बसन्ता क्षेत्रमा पर्ने १८ किलोमिटर, धनगढीमा साढे ६ किलोमिटर र सत्तीदेखि बर्दिया जोड्ने साढे दुई किलोमिटर सडक निर्माण हुन बाँकी छ ।

Featured