देश

लुटपाटमा भगौडा सेनासँगै विप्लव कार्यकर्ता

काठमाडौँ, भदौ २३–नेपाली सेनाका भगौडा सिपाही र नेकपा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका रसुवा सदस्यसहित आठ जना गोङ्गबुस्थित नयाँबसपार्कबाट दुई थान अवैध हतियारसहित पक्राउ परेका छन् । बुवाको उपचार गर्न राजधानी आएका नवलपरासी बर्दघाटका सुन व्यापारी योगेश विकलाई गोङ्गबुस्थित मुस्ताङ गेस्टहाउसमा बोलाई हतियार देखाएर लुटपाट गरेको अभियोगमा महानगरीय प्रहरी परिसर काठमाडौँले शनिबार साँझ उनीहरूलाई पक्राउ गरेको हो ।

परिसरका प्रहरी उपरीक्षक अशोक सिंहका अनुसार पक्राउ पर्नेहरूमा गोङ्गबुस्थित होई रेस्टुराँ एन्ड डान्स बारका सञ्चालक गोरखाका कुशल अधिकारी सेनाका भगौडा र रसुवा छेदिङका योर्साङ घले विप्लवका कार्यकर्ता हुन् । उनीहरूका साथबाट बरामद दुईवटै पेस्तोल द्वन्द्वकालमा प्रहरीबाट लुटिएको हतियार भएको दाबी प्रहरीको छ ।

त्यस्तै हतियार देखाई लुटपाट घटनामा संलग्न रहेको अभियोगमा हाई रेस्टुराँ एन्ड डान्सबारका सञ्चालकहरू नुवाकोट तारकेश्वरका रामबहादुर तामाङ, नुवाकोट विदुरका धर्मराज तामाङ, पिटर तामाङ, विजय तामाङ, सहयोगीहरू गुल्मीका युवराज भण्डारी र राजन तामाङ छन् । यो समाचार आजको गोरखापत्र दैनिकले छापेको छ ।

Featured