NRNA खबर साहित्य

अमेरिकाको बोस्टनमा ‘अन्तराष्ट्रिय नेपाली भाषा–साहित्य सम्मेलन–२०१९’ सम्पन्न

काठमाडौँ, भदौ २२–अमेरिकाको बोस्टनमा ‘अन्तराष्ट्रिय नेपाली भाषा–साहित्य सम्मेलन–२०१९’ सम्पन्न भएको छ । गैरआवासीय नेपाली संघको अन्तराष्ट्रिय समन्वय परिषद् तथा भाषा–साहित्य उपसमितिद्धारा अयोजित ‘प्रथम अन्तराष्ट्रिय नेपाली भाषा–साहित्य सम्मेलन–२०१९’ गत सेप्टेम्बर १ र २ मा सम्पन्न भएको हो । सम्मेलन नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीको प्रमुख आतिथ्य तथा काव्य विभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेलको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो ।

सो अबसरमा कुलपति उप्रेतीले नेपाली भाषा–साहित्य तथा कला–संस्कृतिको समृद्धिका लागि डायस्पोरामा रहेका नेपाली स्रष्टाहरूले उल्लेखनीय भूमिका खेलेको बताए । उनले संसारको जुनसुकै कुनामा रहेपनि नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण गर्नुपर्नेमा पनि जोड दिए । कार्यक्रममा काव्य विभाग प्रमुख प्राज्ञ प्रा.डा. पौडेलले नेपाली भाषा तथा साहित्यको वर्तमान अवस्था र यसको अन्तराष्ट्रियकरणका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

सम्मेलनमा अमेरिकाका विभिन्न राज्यका अतिरिक्त क्यानडा, अफ्रिका, रसिया लगायतका प्रतिनिधि स्रष्टाहरूको सहभागिता रहेको थियो । सम्मेलनको पहिलो दिन अतिथि परिचय तथा काव्यगोष्ठी आयोजना गरिएको थियो । गजलकार कृष्ण कुसुमबाट सुरु भएको उक्त गोष्ठीमा डा. गोविन्दसिंह रावत, गोविन्द गिरी ‘प्रेरणा’, सर्वज्ञ वाग्ले, लालगोपाल सुवेदी, मणि नेपाली पनेरू, गोविन्द गौतम, ममता कर्माचार्य, अनु शाहले आ–आफ्ना रचना वाचन गरेका थिए ।

कार्यक्रममा नेपालबाट गएका रमेश पौडेल, हिक्मत थापा, सुरेन उप्रेती, अग्नि पराजुली, तारा उप्रेती, सूर्य भट्टराई, सिर्जना शर्मा, जयराम रेग्मी, लव अधिकारी, हरि काफ्ले शैव, गीता खत्री, दीपा राई पुन, महेश्वर पन्त, नवीन उप्रेती, प्रेम चौलागाईं, पशुपति सालघारी, लक्ष्मी बजगाईं, जयराम रेग्मी, यम पौडेल, ईश्वरी भट्ट, हरिमाया अधिकारी, सुरेश वाग्ले तथा उमा पराजुली, गोवर्द्धन पूजालगायतले कविता वाचन गरेका थिए । कार्यक्रम एनआरएन म्यासाचुसेट्स च्याप्टरका अध्यक्ष प्रेम तामाङको अध्यक्षता र न्यूह्यामसायर च्याप्टरका अध्यक्ष डम्बर कडरियाको आतित्थ्यतामा सम्पन्न भएको थियो ।

दोस्रो दिनको कार्यक्रममा भाषा–साहित्यका बारेमा प्रा.डा. हेमनाथ पौडेल, हरि अधिकारी, गोविन्द गिरी प्रेरणा, गोविन्दसिंह रावत, गीता खत्री, पदम विश्वकर्मा, हिक्मत थापा, विष्णुमणि आचार्य, सर्वज्ञ पौडेल, सुरेन उप्रेती, सपिला राजभण्डारी, महेश्वर पन्तलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

बोस्टनका नेपालीद्वारा खरिद गरिएको भवन नेपाली भवन पशुपतिनाथ बौद्ध फाउन्डेसनको प्रेक्षालयमा पहिलो पटक आयोजना गरिएको उक्त सम्मेलनमा महेश पौडेलद्वारा सम्पादित अमेरिकामा बसेर कथा लेखिरहेका २१ जना कथाकारको कथाको अंग्रेजी अनुवाद कृति ‘डिस्टेन्ट सनरेज’, नेपाल प्रज्ञा–प्रतिष्ठान र एनआरएनएद्वारा प्रकाशित तथा प्राज्ञ प्रा.डा. हेमनाथ पौडेल, प्राज्ञ माया ठकुरी, प्राज्ञ शशी लुमुम्बू, गोविन्दप्रसाद गौतम, लेखनाथ काफ्ले र सुरेन उप्रेतीद्वारा सम्पादित १३ देशका ५५ जना प्रतिनिधि कथाकारहरूको कथा ग्रन्थ ‘अन्तर्देशीय नेपाली कथाहरू’ र २४६ जना महिला मुक्तककारका ४÷४ वटा मुक्तक संग्रहीत ‘नेपाली मुक्तकमा नारी हस्ताक्षर’ नामक कृतिको लोकार्पण गरिएको थियो ।

कार्यक्रममा रमेश पौडेलद्वारा सम्पादित मुक्तक संग्रहबाट गोवद्र्धनपूजाले शकुन ज्ञवाली, उषा शेरचन र गौरी तमुको मुक्तक र दीपा राई पुनले सरस्वती श्रेष्ठ सरुको मुक्तक वाचन गरी सुनाएका थिए । उक्त सम्मेलनले ६ बुँदै घोषणापत्र जारी गरेको छ । घोषणापत्रमा भानु जयन्तीलाई अन्तराष्ट्रिय नेपाली भाषा–साहित्य दिवसका रूपमा मनाउने, साहित्यमा नोबेल पुरस्कार प्राप्त गर्ने साहित्यकारहरूलाई नेपालमा आमन्त्रण गरी पर्यटन वर्ष २०२० का उपलक्ष्यमा अन्नपूर्ण वा सगरमाथा आधार शिविरमा विश्व साहित्य सम्मेलन गर्ने, प्रत्येक महादेशमा नेपाली कृतिहरूलाई त्यहाँका स्थानीय भाषामा अनुवाद गरी प्रकाशन गर्ने उल्लेख छ ।

त्यसैगरि प्रत्येक दुईवर्षमा नेपाली भाषा साहित्य सम्मेलन गर्ने, प्रवासमा रहेर नेपाली भाषा साहित्यमा निरन्तर योगदान दिने साहित्यकार र विधाको सूची तयार पार्ने, डायस्पोरामा नेपाली भाषा साहित्यमा निरन्तर सेवा गर्ने साहित्यकारहरूलाई छनौट गरी सम्मान गर्ने घोषणापत्रमा उल्लेख छ ।

कार्यक्रममा अर्थ संयोजक ईश्वरी भट्टले कार्यक्रमलाई सहयोग गर्ने व्यक्तिहरूको नाम र रकम सुनाउदै सबैप्रती आभार प्रकट गरे । कार्यक्रमको संयोजन महेश्वर पन्त र सञ्चालन सर्वज्ञ वाग्लेले गरेका थिए । कार्यक्रमको सभापतित्व गोविन्द प्रसाद गौतम ( साहित्य विभाग प्रमुख)ले गरेका थिए भने उपाध्यक्ष सपिला राजभण्डारी , केन्द्रीय कोषाध्यक्ष हिक्मत थापा र आर सी गौरी जोशीको पनि आतित्थ्यता रहेको थियो ।

यसै गरी साँझ आयोजित सांस्कृतिक कार्यक्रममा श्याम नेपाली, रञ्जन बुढाथोकी, मीन केसी, महेश्वर पन्त, सागर खतिवडा, हरिमाया खतिवडा, राज कपुर, सुशील गौतम, राम थापा, अनुभव थपलिया, शान्ता थापा लगायतका कलाकारले साङ्गीतिक कोसेली प्रस्तुत गरेका थिए । सम्मेलनका संयोजक गोविन्द गौतमको सभापतित्वमा सम्पन्न कार्यक्रममा साहित्यकारद्वय कृष्णप्रकाश श्रेष्ठ र होमनाथ सुवेदीलाई ताम्रपत्रसहित सम्मान गरिएको थियो ।

Featured