देश

विवादित मठाधीशको जग्गा खोज्दै गुठी संस्थान

काठमाडौं, भदौ २२–गुठी संस्थानले भैरहवास्थित मटिहानी मठका मठाधीश जगन्नाथदास वैष्णवको नाममा देशका विभिन्न स्थानमा रहेका जग्गाको खोजी कार्यलाई तीव्र बनाएको छ। गुठी संस्थानले मठाधीश वैष्णवले व्यवस्थापन गर्दै आएका विभिन्न जिल्लाका गुठी जग्गा तथा उनका नाममा दर्ता भएका जग्गाको किनबेचमा संस्थानको सहमति लिनुपर्ने गरी रोक्का राखेको छ भने बाँकी जग्गा पत्ता लगाउने अभियान थालेको हो।

संस्थानले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत मालपोत कार्यालयलाई यस्तो निर्देशन दिएको हो । मटिहानी मठको जग्गा महोत्तरी, सर्लाही र धनुषालगायत विभिन्न स्थानमा रहेको संस्थान स्रोतले जनाएको छ। संस्थानका प्रवक्ता सरोज थपलियाका अनुसार संस्थानको सहमतिबिना ती जग्गा किनबेच गर्न पाइनेछैन । ‘देशका विभिन्न स्थानमा वैष्णवको नाममा जग्गा भेटिएका छन् । अन्य स्थानमा समेत जग्गा दर्ता भएको पाएमा संस्थानलाई जानकारी दिन प्रशासनलाई पत्र पठाएका छौं ।

तत्काललाई उनले व्यवस्थापन गर्दै आएका जग्गा र व्यक्तिगत नाममा रहेका जग्गा किनबेच गर्दा संस्थानलाई जानकारी गराएर मात्र आवश्यक प्रक्रिया अगाडि बढाउन प्रशासनलाई भनेका छौं,’ प्रवक्ता थपलियाले भने। हालसम्म उनको भैरहवामा रहेको जग्गाबारे पत्ता लागेको र अन्य ठाउँमा रहेका जग्गाबारे खोजी कार्य जारी रहेको संस्थान स्रोतले जनाएको छ।

वैष्णवले मठका नाममा रहेका जग्गा विभिन्न व्यक्तिलाई बिक्री गरेको पाइएपछि गुठी संस्थानले उनलाई निलम्बन गरी कारबाही प्रक्रिया अगाडि बढाएकोे थियो । यो समाचार आजको राजधानी दैनिकले छापेको छ ।

Featured