देश

७० वर्षीया वृद्धा बलात्कार गरेको आरोपमा एक पक्राउ

जनकपुर, भदौ २१–७० वर्षीया एक वृद्धालाई बलात्कार गरेको आरोपमा प्रहरीले सप्तरीमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको खडक नगरपालिका–८ मुसहर्नियाका ४० वर्षीय रोहित सदा रहेका छन् । बलात्कार गरी फरार रहेका आरोपित गाउँ आएको सूचना पाएपछि प्रहरीले उनलाई घरबाटै पक्राउ गरेको इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी निरीक्षक विष्णुप्रदीप बस्यालले जानकारी दिए ।

मादक पदार्थ खाएर लठ्ठिएका सदाले गत १६ असोजमा राति ती वृद्धा बलात्कार गरेर फरार भएको प्रहरीको आरोप छ । परिवारका सबैजना मेला हेर्न गएको मौका पारी घरमा एक्लै सुतिरहेका बेला सदाले बलात्कार गरेको पीडितले बताएकी छन् ।

भाइको घरमा बस्दै आएकी वृद्धाले घटनालगत्तै १७ असोजमा दिएको उजुरी इलाका प्रहरी कार्यालय कल्याणपुरले सोही दिन दर्ता गरेको थियो । संवेदनशील घटना भएको भन्दै अनुसन्धानका लागि तत्कालीन प्रहरी उपरीक्षक राजेन्द्र विष्ट स्वयं घटनास्थल पुगेका थिए । उनले आरोपितको वीर्यका दाग पीडितको कपडा र ओछ्यानमा फेला परेको बताएका थिए ।

Featured