विदेश

नयाँ निर्वाचनबारे बेलायती संसदमा पुनः मतदान हुने

एजेन्सी, भदौ २०–बेलायतमा ब्रेक्जिटसम्बन्धि प्रस्तावहरु असफल भएपछि समयअगाबै निर्वाचन गर्ने विषयमा पुनः मतदान हुने भएको छ । बुधबारराति भएको मतदानमा नयाँ निर्वाचन गर्नें प्रस्ताव अस्वीकृत भएपछि प्रधानमन्त्री जोनसनको प्रस्तावमा सोमबार पुनः मतदान हुने भएको हो ।

समयअगावै आगामी १५ अक्टोबरमा आमनिर्वाचन गराउने प्रधानमन्त्री बोरिस जोनसनको प्रस्तावलाई हाउस अफ कमन्समा सांसदहरूले बुधवार अस्वीकृत गरेको थियो । विपक्षी लेबर पार्टीका छायाँ अर्थमन्त्री जोन म्याकडोनल्डले लेबर पार्टीले चुनाव चाहे पनि आफूहरुको प्राथमिकता कुनै पनि सम्झौता बिना युरोपेली संघ (ईयू) बाट बेलायत बाहिरिने प्रक्रियालाई रोक्नु भएको उल्लेख गरेका छन् ।

प्रधानमन्त्री जोनसनले निर्वाचनका लागि समर्थन नगरेर विपक्षी नेता जेरमी कोर्बिनले ‘लोकतन्त्रलाई कायर तरिकाले अपमान गरेको’ आरोप लगाएका छन्। ब्रेक्जिटको विषयलाई लिएर घम्साघम्सी चलिरहेका बेला प्रधानमन्त्री बोरिस जोनसनका भाइ जो जोनसनले सांसद र मन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।

आफू राष्ट्रिय स्वार्थ र परिवारप्रतिको इमानदारीबीच के छान्ने भन्नेमा दोधारमा परेको उनले टिप्पणी गरेका छन् । आफ्नो भूमिकामा देखा परेको तनावको कुनै समाधान नभएको समेत उनको भनाइ छ। सन् २०१६ मा बेलायत ईयूबाट बाहिरिने वा रहने भन्ने विषयमा भएको जनमत संग्रहमा उनले ईयूमा नै रहनुपर्ने पक्षमा मतदान गरेका थिए । उनका दाजु बोरिस जोनसन भने बाहिरिनुपर्ने अभियानका प्रमुख अभियन्तामध्ये एक थिए ।

Featured