खेलकुद विदेश

कुवेतद्वारा नेपाल माथि गोलको वर्षा

काठमाडौं, भदौ २०-कतारमा हुने फिफा विश्वकपअन्तर्गत एसियाली राष्ट्रबीचको दोस्रो चरणको छनोट खेलमा नेपालले कुवेतसँग ७–० को लज्जास्पद हार व्यहोरेको छ।

कुवेतको घरेलु मैदानमा बिहिबार राति भएको खेलमा नेपाल कुवेतसँग ७–० गोलले पराजित भयो। पहिलो हाफमा दुई गोलले पछि परेको नेपालले दोस्रो हाफमा पाँच गोल खाएको थियो। नेपालले सुरुवाती १३ मिनेटमै दुई गोल खाएको थियो।

कुवेतका लागि छैटौं मिनेटमा युसुफ नासेरले सुरुवाती गोल गरे। १३औं मिनेटमा अल हाजेरीले गोल गर्दै कुवेतको अग्रता दोब्बर बनाए। हाजेरीले कर्नरबाट सोझै गोल गरेका थिए। दोस्रो हाफमा थप आक्रामक देखिएको कुवेतले ५१औं मिनेटमा तेस्रो गोल गरेको थियो। युसुफ नासेरले हेड गोल गरे।

अब्दुल्लाह माविले ५९औं मिनेटमा चौथो गोल गरेका थिए। ६८औं मिनेटमा कप्तान बादर अल मुत्वाले पाँचौं गोल थपे। कुवेतले बाँकी दुई गोल अन्तिम इन्जुरी समयमा थपेको थियो। इन्जुरी समयमा रेडा हानी र हुसेन अल मुसावीले गोल गरेका थिए। खेलभर नेपालको पोस्ट नजिक बल खेलाएको कुवेतका अन्य प्रयासमा नेपालका गोलरक्षक किरण चेम्जोङले बचाए। किरण बाहेक नेपालका अन्य खेलाडीको प्रदर्शन निकै फितलो बनेको थियो।

समूह ‘बी’ मा पहिलो जितसँगै कुवेत शीर्षस्थानमा रहेको छ। समूहको अर्को खेलमा जोर्डनले चाइनिज ताइपेईलाई २–१ गोलले पराजित गरेको छ। पाँच टोली सम्मिलित समूह ‘बी’ मा नेपाल, कुवेत, अष्ट्रेलिया, चाइनिज ताइपेई र जोर्डन रहेका छन्। छनोट खेलहरु होम एन्ड अवेका आधारमा खेलिने छ। नेपालले अब अर्को खेलमा मंगलबार चाइनिज ताइपेईसँग उसैको मैदानमा खेल्नेछ। मंगलबारनै अर्को खेलमा कुवेत र अष्ट्रेलिया भिड्नेछन्।

Featured