खेलकुद विदेश

सन् २०२० मा आयोजना हुने युरो कप छनोट फुटबलमा स्पेनको कठिन जित

काठमाडौं, एजेन्सी, भदौ २०-सन् २०२० मा आयोजना हुने युरो कप छनोट फुटबलमा समूह ‘एफ’ अन्तर्गत बिहिबार राति भएको खेलमा स्पेनले रोमानियालाई २–१ गोलले हराउँदै कठिन जित निकालेको छ।

रोमानियाको घरेलु मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा स्पेनलाई जितान सर्जियो रामोस र पाको अल्कासरले गोल गरे। रोमानियाका फ्लोरिन इन्डोनले सान्त्वना गोल फर्काएका थिए।

रामोसले २९औं मिनेटमा पेनाल्टीमा गोल गर्दै स्पेनलाई सुरुवाती अग्रता दिलाए। ४७औं मिनेटमा अल्कासरले गोल गर्दै स्पेनको अग्रता दोब्बर बनाए। रोमानियाले ५९औं मिनेटमा गोल फर्काएको थियो। रोमानियाका फ्लोरिनले सान्त्वना गोल गरे। ७९औं मिनेटमा डिएगो लोरेन्टो रातो कार्ड पाउँदै बाहिरिएपछि स्पेन १० खेलाडीमा समेटिएको थियो। त्यसपछि दुवै टोलीबाट गोल नहुँदा स्पेन विजयी भयो।

जितसँगै स्पेन समूहको शीर्ष स्थानमा छ। पाँच खेलमा शतप्रतिशत जित निकालेको स्पेनले १५ अंक बनाएको छ। समान खेलबाट सात अंक बनाएको रोमानिया चौथो स्थानमा छ। समूह ‘एफ’ कै अर्को खेलमा नर्वेले माल्टालाई २–० र स्वीडेनले फारोय आईसल्यान्डलाई ४–० गोलले हराएको छ।

यसैगरी समूह ‘जे’ को खेलमा इटालीले अर्मेनियालाई ३–१, बोस्निया एन्ड हर्जगोभिनाले लिचेटेन्सटेनलाई ५–० र फिनल्यान्डले ग्रीसलाई १–० गोलले हरायो। समूह ‘ए’ को खेलमा डेनमार्कले गीवराल्टरलाई ६–० गोलले हरायो। आयरल्यान्ड र स्वीट्जरल्यान्डले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्।

Featured