NRNA खबर देश विदेश

रुसको मस्कोमा नेपाली को हत्या

मस्को, सेप्टेम्बर ५ – रुसको राजधानी मस्कोको दोमोदेदोभो मेट्रो नजिकै सेप्टेम्बर ४ (बुधबार) बिहानको २:३० बजे कपिलबस्तु घर भई मस्कोमा कार्यरत राजकुमार यादवको हत्या भएको छ। साथीलाई भेटेर घर फर्किने क्रममा रुसी लुटेरा समुहद्वारा कुटपिट गरि हत्या गरिएको रुसी अनुसन्धानकर्ता द्वारा जानकारी प्राप्त भएको छ। सिसि क्यामेरा फुटेज हेर्दा कुटपिट गरेर नै हत्या गरिएको हो भन्ने जानकारी अनुसन्धान टोलि ले दिएको छ। बिहिबार NRNA रसियाका उपाधक्ष्य केशब तिमल्सिना लगायत रुसबासी नेपालीले रुसी अनुसन्धानकर्ताहरुलाई भेटि घटना बारे जानकारी लिएका थिए।

अनुसन्धानकर्ताका अनुसार लुटेरा समूहका २ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरिसकेको छ। पक्राउ पर्नेहरुमध्य एकजना पहिलेपनि विभिन्न मुद्दामा जेल पर्दै आइरहेका थिए। पक्राउ परेका लुटेराहरुलाइ रुसको कानुन अनुसार सजाय को फैसला हुने छ ।

यस घटनाबारे मृतकका परिवारलाई जानकारी गराईसकिएको NRNA रसियाका महासचिव इन्द्र भुषालले जानकारी दिनुभएको छ। मृतकको परिवार संग छलफल गरि शव लाई कहाँ दाहसंस्कार गर्ने भन्ने टुंगो लगाइने र गैर आवासीय नेपाली संघ रसियाको बैठक बसी रुसमा बसोबास गर्ने नेपालीहरुको तर्फ बाट मृतकको परिवार लाई के कसरि राहत उपलब्ध गराउन सकिन्छ भन्ने बारे पनि छलफल गर्ने उपाधक्ष्य केशब तिमल्सिनाले जानकारी दिनु भयो ।

त्यस्तै नेपाली राजदुत महामहीम ऋषि राम घिमिरे ले दुखद घटना प्रति शोक प्रकट गर्दै रुसमा रहेको नेपाली राजदुताबास ले गर्न सक्ने सहयोग र सहकार्यमा कमि हुन नदिने जानकारी गराउनु भएको उपाधक्ष्य तिमल्सिनाले बताउनु भएको छ।