देश

धनुषाको हंसपुर नगरपालिकाका मेयरविरुद्ध किटानी जाहेरी

जनकपुर, भदौ १९–धनुषाको हंसपुर नगरपालिकाको कार्यालय सार्ने विषयमा भएको झडपका क्रममा घाइते भएकामध्ये तपेश्वर मण्डलको मृत्यु भएपछि तीन जनाविरुद्ध किटानी जाहेरी दिइएको छ । मृतक तपेश्वर मण्डलको परिवारले बिहीबार जिल्ला प्रहरी कार्यालय धनुषामा मेयर रामज्ञान मण्डल, हंसपुर नगरपालिका–३ का वडाध्यक्ष उदय सिंह र वडा सदस्य श्याम राउतविरुद्ध किटानी जाहेरी दिएको हो ।

झडपमा गम्भीर घाइते भएका हंसपुर नगरपालिका– २ बस्ने ५५ वर्षीय मण्डलको बुधबार राति मृत्यु भएको थियो । उनको मृत्युपछि आक्रोशित बनेका हंसपुरका स्थानीयवासीले मेयर मण्डलविरुद्ध प्रदर्शनसमेत गरेका छन् । प्रदर्शनका क्रममा उनीहरूले मेयर मण्डलमाथि कडा कारबाही हुनुपर्ने माग गरेका छन् ।

हंसपुर नगरपालिकाका उपमेयर रेणु झाले झडपका क्रममा घाइते बनेका मण्डलको मृत्यु मेयर रामज्ञान मण्डल, वडा नम्बर ३ का अध्यक्ष उदयसिंह र वडा सदस्य श्याम राउतलाई तत्काल कारबाही गर्न माग गरेकी छिन् । त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता रामचन्द्र झाले झडपमा मृत्यु भएका मण्डल आफ्नो पार्टीको कार्यकर्ता रहेको भन्दै उनले मेयरलगायत यसमा संलग्न सबैलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेका छन् ।

उनले दोषीमाथि कारबाही नगरिए आफूहरू बाध्य भएर आन्दोलनमा उत्रिने चेतावनीसमेत दिए । गएको २१ साउनमा नगरपालिकाका मेयर मण्डलले प्रहरीको सहयोगमा बघचौडामा रहेको साविकको कार्यालयका सामग्रीहरू जबर्जस्ती लैजान खोजेपछि उपमेयर रेणु झासहित स्थानीयले अवरोध गरेका थिए । त्यस क्रममा प्रहरीले लाठीचार्ज गर्दा मृतक मण्डलसहित आधा दर्जन स्थानीय घाइते भएका थिए ।

झडपमा परी घाइते भएका मण्डललाई जनकपुर अञ्चल अस्पतालमा भर्ना गरिएकोमा उनको अस्पतालमै मृत्यु भएको थियो । झडपका क्रममा प्रहरीले लाठीचार्ज गर्दा मण्डलको ढाडको तल्लो भागमा गम्भीर चोट लागेको थियो । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको तर्फबाट निर्वा्चित हंसपुर नगरका मेयर रामज्ञान मण्डल र उपमेयर झाबीच शुरूदेखि नै विवाद चल्दै आएको छ ।

Featured