देश

खटाएको ठाउँमा नजाने कर्मचारीको जागिर समाप्त : मन्त्री पण्डित

जनकपुर, भदौ १९–संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले खटाएको ठाउँमा नजाने कर्मचारीको जागिर समाप्त हुने चेतावनी दिएका छन् । सप्तरीको कञ्चनरुप नगरपालिकामा बालमैत्री नगर घोषणा समारोहमा बोल्दै उनले त्यस्तो चेतावनी दिएका हुन् ।

मन्त्री पण्डितले भने, ‘हिजो मात्रै मन्त्रालयमा यो विषयमा निर्णय गरेका छौं । जुन कर्मचारीलाई जहाँ खटाइएको छ, त्यहाँ अनिवार्य रूपमा जानुपर्छ । तलब सेवा सुविधा पनि त्यहीँबाट मात्र पाउँछन् ।’ तोकिएको ठाउँमा नजाने कर्मचारीले तलब, भत्ता र सुविधा केही पनि नपाउने उनको भनाइ थियो ।

मन्त्री पण्डितले २१ दिनसम्म पनि तोकिएको ठाउँमा नपुगे कर्मचारीको जागिर समाप्तिको बाटो शुरू हुने बताए । उनले लोकसेवाको विज्ञापनलाई लिएर विगतमा भएको आन्दोलन र आन्दोलनका अगुवाहरूले भ्रम मात्र छर्ने काम गरेको बताए । मत्री पण्डितका अनुसार नेकपा नेतृत्वको सरकार देशमा आमूल परिवर्तन हुने गरी समृद्घि र विकासको ढोका खोल्न प्रयासरत छ ।

मन्त्री पण्डितले कञ्चनरुप नगरपालिकाको जस्तै अन्य गाउँ र नगरपालिकाले पनि यस्तो अभियानलाई अघि बढाउनुपर्नेमा जोड दिए । सप्तरीको यो नगरपालिका प्रदेश २ कै पहिलो बालमैत्री नगरपालिका घोषणा भएको छ । बालमैत्री स्थानीय तह घोषणा कार्य्विधिमा व्यवस्था भएबमोजिमका सूचकहरू १२ वटै वडाले पूरा गरेपश्चात् बिहीबार एक भव्य समारोहबीच कञ्चनरुप नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा गरिएको हो ।

कञ्चनरुप नगरपालिकाका नगर प्रमुख वसन्त मिश्रले बालसंरक्षण र विकासका लागि नगरपालिकाले पर्याप्त बजेट विनियोजन गरिएको जानकारी दिए । बालमैत्री स्थानीय शासन ऐन २०६८ ले निर्धारण गरेबमोजिम ३९ वटा सूचकहरू नगरपालिकाले पूरा गरिसकेको उनको भनाइ थियो ।