देश

सहकारी संस्थाहरुलाई उद्योग स्थापना मन्त्री अर्यालको आग्रह

काठमाडौंं, भदौ १९–भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारी संस्थाहरुलाई उद्योग स्थापना गर्न आग्रह गरेकी छिन् । संमृद्व देश निर्माणका लागि सहकारीले हरेक स्थानीय तहमा उद्योग खोल्न आवश्यक भइसकेको उनको भनाइ छ ।

नेपाल सहकारी पत्रकार समाजको नवौं स्थापना दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले सहकारी उद्योग स्थापना गर्न अपरिहार्य भइसकेको बताइन् । संमृद्व नेपाल निर्माण गर्न सहकारीले उत्पादनमा लगानी गर्नुपर्ने मन्त्री अर्यालको भनाइ छ । उत्पादनमा लगानी गर्न सहकारीकर्मीलाई आग्रह गर्दा पनि सहकारीले उत्पादनमा लगानी गर्न नसकेको मन्त्री अर्यालले गुनासो गरिन् ।

‘अब हरेक सहकारीले एउटा उद्यममा लगानी गर्नुपर्छ, सहकारीका अगुवाले भाषण गर्ने मात्रै होइन,’ मन्त्री अर्यालले भनिन् । सहकारी संस्थाहरू एकीकृत उत्पादनमा लागेमा बढ्दो व्यापारघाटा कम गर्न सकिने उनको भनाइ छ । ‘हाम्रो भूमि खाली भयो, अब भूमिको अधिकतम् प्रयोग गरेर उत्पादन बढाउनुपर्छ,’ उनले भनिन् ।

मन्त्री अर्यालले पठ्यक्रममा सहकारीको विषयवस्तु समावेश गर्न लागिएको र त्यसका लागि त्रिभुवन विश्वविद्यालयलाई अनुरोध गरिसकेको पनि जानकारी दिइन् । उद्यमशीलता बढाउनकै लागि सहकारीको सन्दर्भ ब्याजदर निर्धारण गरिएको उनको भनाइ छ ।

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशवप्रसाद बडालले सहकारीलाई उत्पादनमा जान नीतिगत समस्या रहेको बताए । सहकारी उद्योग स्थापना गर्न दर्जनौं कानुन सुधार गर्न आवश्यक भएको उनको भनाइ छ ।

सहकारी ऐन संशोधन गर्ने क्रममा रहेकाले ऐन संशोधन पश्चात सहकारी मोडेल अर्थतन्त्र निर्माण गर्न नीतिगत सुधार गर्नुपर्ने बडालले बताए । राष्ट्रिय सहकारी विकास बोर्डका सह–अध्यक्ष दक्ष पौडेलले सहकारीको विकासका लागि बोर्डले नीतिगत सुधार गर्र्दै आएको बताए ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष मीनराज कँडेल, महासंघका उपाध्यक्ष एवम् अन्तराष्ट्रिय सहकारी महासंघका ग्लोबल मेम्बर ओमदेवी मल्ल, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती, नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय संघ (नेफ्स्कुन) का अध्यक्ष डीबी बस्नेत, नेफ्स्कुनका वरिष्ठ उपाध्यक्ष परितोष पौडेल, काठमाडौं जिल्ला सहकारी संघका अध्यक्ष टेकप्रशाद चौलागाई लगायतले धारणा राखेका थिए ।

Featured