देश

३३ किलो बहुमूल्य जडिबुटी सहित दुई जना पक्राउ

लमजुङ, भदौ १९—मस्र्याङ्दी गाउँपालिका ३ खुदी बजारबाट प्रहरीले ३३ किलो अवैध निरमसीसहित २ जनालाई पक्राउ गरेको छ। लेकमा पाइने निरमसी लोपोन्मुख एवं बहुमुल्य जडिबुटीको रुपमा लिइन्छ।

गोरखाको सुलिकोट गाउँपालिका १ बारपार्कका ४८ वर्षीय पूर्णबहादुर गुरुङ र ३७ वर्षीय छमबहादुर गुरुङलाई पक्राउ गरिएको डीएसपी रविन्द्रमान गुरुङले बताए। उनीहरुलाई बुधबार साँझ ६ बजेतिर पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याएको उनले बताए। शंका लागेर चेकजाँच गर्दा भेटिएको निरमसी जोख्दा पूर्णबहादुरले बोकेको झोलामा ११ किलो र छमबहादुरले बोकेको झोलामा २२ किलो निरमसी फेला परेको उनले बताए।

डीएसपी गुरुङका अनुसार यसअघि निरमसी यतिका मात्रामा फेला परेका थिएनन्। उनीहरुले बिना पूर्जी अवैध रुपमा निरमसी संकलन गरेको देखिएको छ। मस्र्याङ्दी गाउँपालिका १ र २ को घनपोखराको लेकमा संकलन गरी ल्याएको उनीहरुले सोधपुछमा बताएको प्रहरीले जनाएको छ। करिब १ महिनासम्म लेकमा बसेर संकलन गरेर ल्याएको निरमसी उनीहरुले विक्री गर्न बेसी शहर लैजाने क्रममा प्रहरीले फेला पारेको हो।

सुक्दै गरेको निरमसी पुरै सुकेपछि आधा तौल घट्ने प्रहरी बताउँछ। सुकेको निरमसीलाई उनीहरुले ५ हजारदेखि ६ हजारसम्म विक्री गर्दै आएको प्रहरीलाई बताएका छन्। उनीहरुले घनपोखराको जंगलबाट संकलन गरेर ल्याएको भनेको र घनपोखरा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को संरक्षित क्षेत्रभित्र पर्ने भएकाले उनीहरुलाई कानुन बमोजिम कारबाहीको लागि एक्यापको जिम्मा लगाइने डीएसपी गुरुङले बताए।