देश

यार्सागुम्बाको खरिदविक्री नहुँदा संकलनकर्ता चिन्तित्

काठमाडौं, भदौ १९–बहुमूल्य जडीबुटी यार्सागुम्बाको खरिदविक्री नहुँदा संकलनकर्ता चिन्तामा परेका छन् । वैशाख महिनादेखि असारसम्म टिप्ने सिजन र साउन, भदौ महिनासम्म किनबेच हुने गरेको यार्सा यसपालि भने अझैसम्म विक्री हुन नसक्दा संकलनकर्ता चिन्तित बनेका हुन् । उनीहरूले टिपेको यार्सागुम्बा संकलनकर्ताको घर–घरमै थन्किएर बसेको छ ।

प्रतिकिलो १८ लाख रुपैयाँमा भन्दा बढीमा खरिदविक्री हुने यो वनस्पतिको मूल्य गतवर्षदेखि ओरालो लाग्दै आएको छ । यसअघिको सिजनमा यार्साको मूल्य प्रतिकिलो ३२ लाख रुपैयाँसम्म पुगेको थियो । व्यापारीका अनुसार अघिल्लो वर्षकै यार्सा विक्री हुन बाँकी रहेकाले यस वर्ष खरिदविक्री नभएको हो ।

केही वर्षअघिसम्म यार्सा खरिदका लागि हेलिकोप्टर नै लिएर व्यापारीहरू गाउँगाउँसम्म पुग्ने भए पनि गतवर्षदेखि यार्साको मूल्य खस्कँदै गएको दार्चुलाका स्थानीय व्यापारी हरकसिंह धामीले बताए । उनले भने, ‘एकातिर हाम्रो गतवर्षकै यार्सा विक्री भएको छैन । अर्को्तिर स्थानीय संकलनकर्ताको माग महँगो छ । त्यसका पनि व्यापारीले किन्न मानिरहेका छैनन् ।’

यार्सा किन्ने भनेर स्थानीयलाई दिएको लगानी नै उठाउन गाह्रो भएको उनको भनाइ छ । नेपालका हिमाली जिल्ला दार्चुला, बझाङ, डोल्पा, रुकुम र सोलुखुम्बुमा यार्सागुम्बा भेटिने गरेको छ । दशैं नजिकिँदै गर्दा पनि यार्सा विक्री हुन नसकेपछि यार्सा नै खोजेर जीविकोपार्जन गर्ने स्थानीयवासीहरू मर्कामा परेका छन् ।