देश

संविधान कार्यान्वयन गराउन निरन्तर प्रयास : अध्यक्ष प्रचण्ड

काठमाडौं, भदौ १९–सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले संविधान कार्यान्वयन गराउन पार्टीले अन्तिम समयसम्म प्रयास जारी राख्ने बताए । अध्यक्ष दाहालले संविधान विरोधी तत्वहरुसँग प्रतिवाद गर्ने अभियानमा पनि आफ्नो पार्टी लागि परेको दावी गर्दै त्यसमा साथ दिन सबै समूदायलाई अपिल समेत गरे ।

बिहीबारबाट काठमाडौंमा सुरु भएको दलित सम्बन्धि राष्ट्रिय सम्मेलनलाई उद्घाटन गर्दै उनले दलित मुक्ति आन्दोलन दीर्घकालीन आन्दोलन पनि भएकाले यसमा उत्पीडित समुदायले एकतावद्ध भएर अघि बढ्नुको विकल्प नरहेको पनि स्पष्ट पारे । संविधानले दलित मुक्तिको परिकल्पना गरेको भएपनि त्यसलाई कार्यान्वयनमा लैजान उनीहरु आफैं चनासो हुनुपर्ने अध्यक्ष दाहालको भनाई छ ।

कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री एवम् सत्ता साझेदार समाजवादी पार्टी, नेपाल संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले दलित समुदायको अधिकार सुनिश्चित गर्न उनीहरुलाई उच्च शिक्षासम्म निःशुल्क अध्ययन गर्न पाउने गरी कानुन बनाउन सरकारसँग माग गरे । उनले सुकुम्बासी दलितहरुलाई तत्काल जमिनको व्यवस्था गर्न पनि सरकारलाई सचेत गराए ।