खेलकुद

कराँते खेलाडी रूपकलाई सघाउने मुख्यमन्त्रीको चाहना

पोखरा, भदौ १९–गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले फुल कन्ट्याक्ट कराँते खेलाडी रूपक नेपालीलाई सहयोग गर्ने आश्वासन दिएका छन् । प्रथम फुल कन्ट्याक प्रेसिडेन्ट कराँते कप ग्रान्ड च्याम्पियनमा पुरुष खुला तौल समूह स्वर्ण पदक विजेता रूपकलाई मुख्यमन्त्री गुरुङले खादा ओढाएर सम्मान गर्दै प्रदेशको नाम उचो राख्न हौस्याउँदै आवश्यक सहयोग गर्ने आश्वासन दिएका हुन् ।

प्रशिक्षक शिव गुरुङ, राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेशकुमार गुरुङसहितको टोलीले उत्कृष्ट खेलाडी रूपकको आर्थिक अवस्था कमजोर रहेको मुख्यमन्त्रीलाई जानकारी गराएका थिए । मुख्यमन्त्री गुरुङले खेलमा राम्रो गर्ने खेलाडीका लागि प्रदेश सरकारले सधैं हौस्याउने तयारी गरेकोे जनाए । ‘आफ्नो क्षेत्र र प्रदेशको इज्जतका लागि सबै संघसंस्थाहरूले यस्ता खेलाडीको हितमा काम गर्नुपर्छ,’ मुख्यमन्त्री गुरुङले भने ।

खेलाडी रूपकले आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदेशलाई स्वर्ण पदक दिलाएका थिए । ‘मेरो पारिवारिक आर्थिक समस्याले गर्दा सोचेअनुसार खुलेर खेल्न पाएको छैन,’ उनले भने, ‘खेललाई असर नपर्ने गरी रोजगारीको अवसर पाए मलाई धेरै राहत हुन्थ्यो ।’

नेपाल फुल कन्ट्याक्ट कराँते महासंघको आयोजना र युनाइटेड नेपलिज क्युकिसन एडभान्समेन्टको सहप्रायोजनमा हालै पोखरामा सम्पन्न भएको प्रथम फुल कन्ट्याक प्रेसिडेन्ट कराँते कप ग्रान्ड च्यम्पियनमा पुरुष खुला तौल समूहमा रूपकले स्वर्ण पदक जितेका हुन् ।

Featured