देश

जलेश्वर कारागारका एकचौथाइ बन्दीमा भाइरल ज्वरो

जलेश्वर, भदौ १९–महोत्तरी, धनुषा र केही वर्षदेखि सर्लाही जिल्लाको संयुक्त कारागारका रुपमा रहेको जलेश्वर कारागारमा बस्दै आएका बन्दीमध्ये एकचौथाइमा भाइरल ज्वरोको प्रकोप देखिएको छ । अत्यधिक गर्मीका बीच क्षमताभन्दा करिब चार गुणा बढी बन्दीको चाप बढेकाले जलेश्वर कारागारका एकचौथाइमा भाइरल ज्वरोको संक्रमण देखिएको जेलर कन्हैयाकुमार मिश्रले बताए ।

उनका अनुसार १३५ बन्दी राख्ने क्षमता भएको यस कारागारमा अहिले विभिन्न न्यायिक र अर्धन्यायिक निकायको आदेशमा बन्दीको संख्या ५ सय पुगेको छ । ४५१ पुरुष, ४५ महिला र ४ आश्रित बालबालिकासहित अहिले जलेश्वर कारागारमा जम्मा ५ सय बन्दी छन् ।

अत्यधिक चापकै कारण मान्छे–मान्छेबीच उत्पन्न हुने गर्मी र माथिबाट चर्को घामका कारण जलेश्वर कारागारमा अहिले करिब १४० बन्दीमा भाइरल फिवरको प्रकोप देखिएको मूलकैदी (चौकीदार) श्यामसुन्दर यादवले बताए ।

अहिले जलेश्वर कारागारबाट दैनिक एक दर्जनभन्दा बढी बन्दी उपचारका लागि जिल्ला अस्पताल जलेश्वरमा पठाउने गरिएको जलेश्वर कारागारका सूचना अधिकारी मकसुदन महासेठले बताए । उनले अत्यधिक गर्मीकै कारण कैदीबन्दी अहिले उकुसमुकुस भएर बाँचिरहेको र एउटा न एउटा कैदीबन्दी बिरामी भइरहने अवस्था रहेको बताए ।

दैनिक दर्जनौँको संख्यामा बिरामी हुने बन्दीमध्ये धेरैलाई कारागारमै दरबन्दी भएका सिनियर अहेबले भित्रै गएर र बाहिर निकालेर पनि उपचार गरेका छन् भने सिकिस्त बिरामीलाई उपचारका लागि जिल्ला अस्पताल पठाउने गरिएको उनले बताए ।

यता जिल्ला अस्पताल जलेश्वरका डा. मृत्युञ्जयकुमार ठाकुरले पनि जलेश्वर अस्पतालमा उपचार गराउन आउने बिरामीमध्ये एकचौथाइ बिरामी कारागारबाटै आउने गरेको बताए । चर्को घाम र अत्यधिक गर्मीले अहिले जलेश्वर कारागारबाट प्रायः सबै कैदीबन्दी कुनै न कुनै रुपले प्रभावित भइरहेका छन् भने एकचौथाइ बन्दी भाइरल ज्वरोको सिकार भएर उपचारमा रहेका छन् । (रासस)