विदेश

जोनसन अल्पमतमा, समयअघि नै निर्वाचन गर्ने प्रस्ताव अस्वीकृत

एजेन्सी, भदौ १९–समयअघि नै चुनाव गराउने बेलायती प्रधानमन्त्री बोरिस जोनसनको प्रस्ताव संसदबाट अस्वीकृत भएको छ । गएराति हाउस अफ कमन्समा भएको मतदानमा आम निर्वाचन गराउने पक्षमा दुई तिहाई मत ल्याउन प्रधानमन्त्री जोनसन असफल भएपछि आगामी अक्टोबरसम्ममा निर्वाचन गराउने उनको प्रयास विफल भएको छ ।

प्रधानमन्त्रीको प्रस्तावको पक्षमा २९८ मत खसेको थियो भने विपक्षमा ५६ मत परेको थियो । निर्वाचनका लागि सरकारले कुल ४३४ मत ल्याउनुपर्ने थियो । मतदानका क्रममा विपक्षी लेबर पार्टीसहितका २८८ सांसदले सहभागिता जनाएनन् । प्रधानमन्त्री जोनसनले आगामी १५ अक्टोबरमा आमनिर्वाचन गराउने प्रस्ताव गरेका थिए।

सांसदहरूले सहमति विनाको ब्रेक्जिटलाई रोक्न सक्ने विधेयक पारित गरेपछि आमनिर्वाचनका लागि प्रधानमन्त्री जोनसनले संसद्मा प्रस्ताव पेश गरेका थिए। यसअघिको मतदानमा सांसदहरूले सहमति विनाको ब्रेक्जिट विलम्ब गर्ने विधेयक पारित गरेका थिए। हाउस अफ कमन्समा बुधवार नै सम्पन्न मतदानमा पक्षमा ३२७ मत खसेको थियो भने विपक्षमा २९९ मत परेको थियो ।

प्रधानमन्त्री जोनसनले सो विधेयकलाई ‘आत्मसमर्पण गराउने विधेयक’ को संज्ञा दिएका छन् । बुधवार नै ब्रेक्जिट विलम्ब गर्नुपर्ने प्रस्ताव गरिएको विधेयक पारित भएको थियो । विधेयकको पक्षमा ३३० र विपक्षमा ३०० मत खसेको थियो । बेलायतले पूर्व्निर्धा्रित समयतालिका अनुसार ३१ अक्टोबरमा युरोपेली संघ छाड्नुपर्नेछ ।

मंगलबार प्रधानमन्त्री बोरिस जोनसनको ब्रेक्जिट नीति संसद्मा ठूलो मतान्तरले पराजित भएको थियो । मतदानमा सरकारको पक्षमा ३०१ र विपक्षमा ३२८ सांसद उभिएका थिए । प्रधानमन्त्री जोनसनले मंगलबार नै संसद्मा बहुमत गुमाएका थिए।

Featured