देश

ललिता निवास प्रकरणमा बयानका लागि थप ५८ जना बोलाइए

काठमाडौं, भदौ १९–अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ललितानिवास जग्गा प्रकरणमा बयानका लागि थप ५८ जनालाई बोलाइएको छ। अख्तियारले बुधबार जारी गरेको सार्वजनिक सूचनामा सात दिनभित्र बयानका लागि उपस्थित हुन भनिएको छ। हालसम्म उक्त प्रकरणमा ९४ जना व्यक्तिसँग बयान लिएको अख्तियारले जनाएको छ। बालुवाटारस्थित ललितानिवास परिसरको २ सय ९९ रोपनी सरकारी जग्गा मालपोत कार्यालय डिल्लीबजारका कर्मचारीको मिलेमतोमा व्यक्तिका नाममा कायम गरिएको उजुरी परेपछि अख्तियारले अनुसन्धान सुरु गरेको छ।

सरकारले प्रचलित कानुनबमोजिम अधिग्रहण गरी मुआब्जासमेत दिएको उक्त जग्गामा मालपोत कार्यालय डिल्लीबजारका कर्मचारीले अनधिकृत व्यक्तिलाई जग्गाधनी र मोही कायम गरी अनियमितता गरेको आरोपमा अख्तियारले छानबिन सुरु गरेको हो। अख्तियारले जग्गाधनीलाई पनि बयानका लागि बोलाएको छ।

अख्तियारबाट बयानका लागि बोलाइएका व्यक्तिहरूमा कल्पना तुलाधर, शर्मिला शाक्य, प्रगति कंसाकार, कामना गुरूङ, सज्जनकुमार चाचान, देवान्सी गोयल, मनोजकुमार केडिया, मनोजकुमार गौतम, मन्ती गोर्खाली, निकिता तुलाधर, अभिताम्भ तुलाधर, उमा प्रसाईं, युरिशोभा तुलाधर, रेणुका बज्राचार्य, सुविस्ता तुलाधर, अञ्जना तुलाधर, चन्द्रिका कंसाकार, सानुछोरी बज्राचार्य, दिलिप खेतानलगायत छन्। यो समाचार आजको नागरिक दैनिकले छापेको छ ।