देश

हामीलाई काश्मीर होइन त्यस क्षेत्रका नेपालीबारे चिन्ता छ : मन्त्री ज्ञवाली

काठमाडौं, भदौ १८–परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जम्मू–काश्मीर विवाद भारतको आन्तरिक मामिला भएको बताएका छन् । हिन्द महासागर सम्मेलनमा भाग लिन माल्दिभ्स पुगेका मन्त्री ज्ञवालीले मंगलबार भारतीय समाचार संस्था एनआईसँगको कुराकानीमा संविधानको धारा ३७० खारेज गर्ने विषय भारतको आन्तरिक मामिला भएको बताएका हुन् ।

भारतले धारा ३७० खारेज गरेकोप्रति नेपालको धारणा के हो भन्ने प्रश्नमा उनले भने, ‘संविधान संशोधन गर्नु वा परिमार्जन गर्नु भारत सरकारको आन्तरिक कुरा हो, यसमा हाम्रो कुनै प्रतिक्रिया छैन ।’ परराष्ट्रमन्त्री ज्ञवालीले उक्त क्षेत्रमा रहेका नेपाली अहिलेसम्म सुरक्षित रहेकोमा नेपाल सरकार खुसी रहेको बताए । ‘हाम्रो चासो भनेको उक्त क्षेत्रमा काम गर्ने नेपालीबारे हो,’ मन्त्री ज्ञवालीले भने, ‘हामी खुसी छौं कि अहिलेसम्म उनीहरु सुरक्षित छन् र उनीहरुको सुरक्षाबारे भारत सरकारसँग हाम्रो कुराकानी चलिरहेको छ ।’

भारत सरकारले गत ५ अगस्टमा संविधानको धारा ३७० खारेज गरेर जम्मू–काश्मीरको विशेष अधिकार खारेज गरिदिएको थियो । त्यसपछि भारत र पाकिस्तानबीच तनाव बढेको छ भने काश्मीर क्षेत्र अशान्त छ ।