काठमाडौं, भदौ १८–प्रमुख विपक्षी नेपाली कांग्रेसले १७ बुँदे राजनीतिक प्रस्ताव पारित गर्दै सरकारविरुद्ध आन्दोलनमा जाने चेतावनी दिएको छ । केन्द्रीय कार्यसमिति बैठकका निर्णयहरु सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा सहमहामन्त्री प्रकाशशरण महतले आफूले अघि सारेका विषयमा गम्भीर हुन सरकारको ध्यानाकर्षण गराए।
‘यो विषयमा सरकार गम्भीर भएन। संविधानको मर्मभावना कुल्चिने, कर्मचारी संयन्त्र तहसनहस बनाउने, संवैधानिक निकायहरुलाई दुई तिहाईको बलमा छायाँमा राख्ने काम भयो भने हामी सडक र सदनमा आन्दोलनमा जान्छौं’, उनले भनेका छन्। कांग्रेसले समानुपातिक समावेशीता, सभामुख र उपसभामुख फरक दलबाट हुनुपर्ने लगायतका संवैधानिक व्यवस्था कार्यान्वयन गर्न पनि सरकारसँग माग गरेको छ।
प्रतिक्रिया दिनुहोस