देश

पद त्यागेर आराम गर्न प्रधानमन्त्री ओलीलाई गगन थापाको सुझाव

काठमाडौं, भदौ १८–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्राम लिन सुझाव दिएका छन् । उपचारका लागि सिंगापुरमा रहेका प्रधानमन्त्रीलाई धेरै धपेडी बहन नगर्न भन्दै सांसद थापाले पद त्यागेर आराम गरी बस्न सुझाव दिएका हुन् ।

बुधबार प्रतिनिधिसभा बैठकको विशेष समयमा सांसद थापाले भने, ‘कार्यकारी प्रमुख लामो समयसम्म देश बाहिर बस्दा मुलुकको राष्ट्रिय सुरक्षा तथा कुटनीतिक मर्यादा आदिमा जोखिम उत्पन्न हुन्छ । त्यसैले प्रधानमन्त्रीज्यू धेरै धपेडी नगर्नुस्, विश्राम लिनुहोस् ।’ प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका कारण लगातार काम गर्न नसक्ने भन्दै उनले विकल्प खोज्नुपर्ने बताए ।

‘मैले धेरै पटक नेपाल कम्युनिस्ट पार्टीका युवा सांसदले प्रधानमन्त्रीलाई बा भनेर सम्बोधन गर्ने गरेको सुनेको छु । प्रधानमन्त्री हाम्रो पनि बा सरह हुनुहुन्छ । हामी हाम्रो बा विरामी हुनुभएको भए के भन्थ्यौं? बा धपेडी नगर्नुहोस् । बा आराम गर्नुहोस् । बा विश्राम लिनुहोस् । हामी हाम्रो बालाई यसो भन्छौं । तर प्रधानमन्त्री बालाई त्यसो भन्न किन सक्दैनौं?’