देश

संसदमा धार्मिक आन्दोलनको चेतावनी

काठमाडौं, भदौ १८–हालै सुर्खेतको जंगलमा भीरबाट लडाएर गाई मारिएको घटनालाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी एक सांसदले धार्मिक आन्दोलनको चेतावनी दिएकी छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा विशेष समयमा सांसद डा. डिला संग्रौलाले गौहत्या घटनाको छानबिन समिति गठन गरेर मात्र केही नहुने भन्दै दोषीलाई कारबाही नगर्ने हो भने अर्को धार्मिक र सांस्कृृतिक आन्दोलन हुने चेतावनी दिएकी हुन् ।

उनले घटनाको सत्य तथ्य बाहिर ल्याउन माग गर्दै गौहत्या जघन्य अपराध भएको बताइन । ‘गाई हाम्रो राष्ट्रिय जनावर हो । गाईको धार्मिक दृष्टिले पनि महत्त्व छ । वर्षमा एक पटक हामी गाईलाई माताको रुपमा पूज्छौं,’ डा. संग्रौलाले भनिन । उनले नेपालको संविधानअनुसार गौहत्या जघन्य अपराध भएकोले त्यस्तो घटनाका दोषीलाई सरकारले किन कारबाही नगरेको भनी प्रश्न गरिन् ।

सांसद डा. संग्रौलाले पशु अधिकारका दृष्टिले पनि पशुलाई त्यतिकै हत्या गर्न नपाइने भन्दै खोटाङको मझुवामा मेयरले आफै पैसा दिएर कुकरलाई क्रुर तरिकाले हत्या गरेकोले कारबाही गर्न माग पनि गरिन् । नेपालगञ्ज उपमहानगरपालिकाले दैलेखको श्रीस्थान धार्मिक क्षेत्रमा पठाइएका भनिएका दुई सय ९० गाईबाच्छामध्ये २४ गाईलाई सुर्खेतको जंगलमा भिरबाट लडाएर मारिएको घटना क्रुरताको उदाहरण भएको संग्रौलाले बताइन् ।

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसद महेन्द्र राय यादवले नीजगढमा अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माण गर्नु पर्ने पक्षमा राजपा भए पनि आठ हजार हेक्टर जमिन र २४ लाख रुख काट्ने निर्णयबाट भने जनता चिन्तित भएको बताए । ‘एयरपोर्ट बनाउन कति हेक्टर जमिन चाहिन्छ ? सरकारले स्पस्ट पार्नु पर्छ’, यादवले भने, ‘कमभन्दा कम रुख काट्न र अनावश्यक रुख कटान नगर्न हामी आग्रह गर्छौं ।’

यादवले प्रदेश सरकारसँग समन्वय गरेर मात्र विमानस्थल निर्माण गर्न माग गरे । चुरे बिनासको कारणले त्यहाँका जनताको जनजिवन दिन प्रतिदिन प्रभावित भइहरेको गुनासो उनको थियो । यादवले नागरिकता विधेयक चाँडोभन्दा चाँडो वितरण गर्ने काम गर्न माग गरे ।

सत्तारुढ समाजवदाी पार्टीकी नेतृ रेणुकुमारी यादवले भ्रष्टाचार र महङ्गी नियन्त्रण गर्न सरकार असफल भएको आरोप लगाइन् । ‘यो महङ्गीमा कुन विद्यार्थी पढ्न सक्छ ?’, यादवले भने, ‘सुन काण्डमा क–कसलाई कारबाही भयो ? यो बहुमतको सरकारले भ्रष्टाचार गरेर इतिहास रचेको छ ।’ उनले नेपाल प्रहरी र नगर प्रहरीले सत्तारुढ दलको भातृ संस्थाको काम गरिरहेको आरोप लगाइन् ।