देश

कैलालीमा मोटरसाइकल चोरको बिगबिगी

धनगढी, भदौ १८–कैलालीमा मोटरसाइकल चोरीका घटना बढ्दै गएका छन् । चालू आर्थिक वर्षको पछिल्लो डेढ महिना यता कैलाली प्रहरीले २७ चोरीका मोटरसाइकल बरामद गरेको छ । प्रहरी तथ्याङ्कले मोटरसाइकल चोर्ने क्रम बढ्दो देखाए पनि उजुरी भने कमै परेका छन् । यो अवधिमा ८ उजुरी परेकामा ३ मोटरसाइकल बरामद गरी सवारी धनीलाई फिर्ता गरिएको छ भने बाँकी खोजी प्रक्रियामै रहेका छन् ।

कार्यालयमा परेका ८ उजुरी मध्ये ३ मोटरसाइकल बरामद गरी सवारी धनीलाई फिर्ता गरिएको कैलाली प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए । ४ मुद्दामा सात जना पक्राउ परेको र तीन जना फरार रहेको उनले बताए ।विभिन्न स्थानबाट २७ बरामद भएका मोटरसाइकल यातायात व्यवस्था कार्यालय धनगढीमा बुझ्दा विवरण नभेटिएपछि चोरीका हुन् भन्ने पुष्टि भएको उनले बताए ।

उनले भने, ‘यीमध्ये दुईवटा सवारीधनीलाई फिर्ता गरिएको छ, ४ मोटरसाइकल मुद्दा पक्रियामा छन् र बाँकी २१ मोटरसाइकलको अझै सवारी धनी खुलेको छैन’ । गत वर्ष पनि कैलाली प्रहरीले ठूलो मात्रामा चोरीका मोटरसाइकल बरामद गरको थियो । बरामद मोटरसाइकल लिन सवारी धनी नआएपछि २ सय ११ चोरीका मोटरसाइकल भन्सार कार्यालय पठाइएको थियो । चोरीका मोटरसाइकल बरामद भए पनि व्यक्तिहरू भने फरार छन् ।

प्रहरी प्रवक्ता बस्नेतले यसतर्फ निगरानी बढाइएको दाबी गरे । एक महिनाको अवधिमा सात जना पक्राउ परिसकेको बताउँदै उनले फरारलाई पनि चाँडै नियन्त्रणमा ल्याउने दाबी गरे । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीमा पनि दर्जनौं मोटरसाइकल थन्किएका छन् । ट्राफिक प्रहरी कार्यालयमा १० सवारी दुर्घटनाका, ३ चोरीका र १२ नवीकरण फेल भएका गरी २५ मोटरसाइकल रहेको कैलाली ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक सरोजकुमार ठकुराठीले बताए ।

हाल जिल्ला प्रहरी कार्यालय कैलालीमा विवरण नखुलेका २१ मोटरसाइकल रहेका छन् । तिनको मोटरसाइकल नम्बर, च्यासिस नम्बर, इन्जिन नम्बर, रङ र मोडल प्रहरीले सार्वजनिक गरेको छ । प्रमाण पुग्ने कागजपत्र ल्याएर मोटरसाइकल बुझ्न सम्बन्धित व्यक्तिलाई आग्रह गरिएको छ । सवारी धनी सम्पर्कमा नआएमा भन्सार कार्यालयले लिलामी प्रक्रिया शुरू गर्नेछ ।