देश

धानमा फौजि किराको प्रकोप बढ्दै गएपछी किसानहरु चिन्तित्

विराटनगर, भदौ १८–नेपालमै सवै भन्दा बढी धान उत्पादन हुने झापा जिल्लामा फौजि किराको प्रकोप बढ्दै गएपछी किसानहरु चिन्तित् बनेका छन् । धान उत्पादनको पकेट क्षेत्र मानिएको झापाको धानबालीमा यसपटक फौजी किराको प्रकोप देखापरेपछी कृषकहरु चिन्तित् बनेका हुन् ।

झापाका दक्षिणी क्षेत्रमा देखा परेको फौजी किराको प्रकोप दैनिक व्यापक बन्दै गएपछि यस वर्ष धान उत्पादन समेत घट्ने देखिएको छ । हाल झापाको गौरादह नगरपालिकाको वडा नम्बर–६ र झापा गाउँपालिकाको वडा नम्बर–३ मा फौजी किराको प्रकोप व्यापक मात्रामा देखिएको छ । गौरादहमा मात्र करिब ५ सय बिघा क्षेत्रफलमा लगाइएको धानबालीमा फौजी किराको प्रकोप देखा परेको छ ।

त्यस्तै, झापा गाउँपालिकाको एक वडाको करिब ३ बिघा क्षेत्रफलमा फौजी किराको प्रकोपले धानबाली नष्ट भइरहेको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ । गौरादह–६ को वीरबल चौक आसपास मात्र फौजी किराले सयौं मन धान फल्ने क्षेत्रको धानबालीलाई नोक्सान पु¥याएको किसानहरुले बताएका छन् ।

झापाको गौरादहका स्थानीय कृषक खड्गबहादुर कार्कीले आफुहरुको खेतमा फौजि किराले आतंक फैल्याएको बताए । उनले भने,‘फौजि किराले यहाँको सयौँ विघामा लगाइएको धानबाली नष्ट गरिरहेको छ । कुन औषधीले यो किरा मार्न सकिन्छ हामीलाई थाहा छैन । बजारबाट किनेर ल्याएर छिटेको औषधिले पनि काम गरेको छैन । यो वर्ष धान नफल्ने हो कि भन्ने चिन्ता छ ।’

फौजी किराका कारण धानबाली नष्ट भएपछि त्यसको नियन्त्रणका विषयमा समेत जानकार नभएको पाइएको छ । गौरादहकै स्थानीय कृषक शारदा प्रसाईँका अनुसार कुन विषादीको प्रयोग गर्ने भन्ने विषयमा समेत आफुहरु अलमलमा पर्दै आएको बताइन् । एक सातादेखि फौजि किराको प्रकोप देखापरेपछि धानबालीमा निर्भर रहेका किसानहरु थप चिन्तित बन्दै आएका छन् । फैजी किराले थोरै समयमा पनि धेरै बाली नष्ट गर्ने गरेको उनीहरुको भनाइ छ ।

दिनभरि धानको गाँजमा लुक्ने र रात परेपछि किराले धानको डाँड, पात र टुप्पा खाने गरेको छ । २–३ दिनभित्रै फैजी किराले धानबालीलाई नष्ट गरेपछि कसरी प्रकोपको नियन्त्रण गर्ने भन्ने स्थानीय किसान अलमलमा छन् । प्रति बिघा ९० मनसम्म उत्पादन हुने धानवालीमा फौजी किराको प्रकोप देखिएपछि अब यसको समाधान कसरी गर्ने भन्ने विषयमा नगरपालिकाले छलफललाई तिब्रता दिदैं समाधानको बाटो खोज्न सुरु गरेको गौरादह–६ का वडाध्यक्ष खड्गप्रसाद पराजुलीले बताए ।

उनले भने,‘ यो ठुलो समस्याका रुपमा देखा परेको छ । यसको समाधानका लागि हामी छलफलमा छौँ । हामी यसको चाँडै समाधान निकाल्ले प्रयासमा छौँ ।’कृषि ज्ञान केन्द्र झापा, कृषि विकास निर्देशनालय र बाली संरक्षण प्रयोगशाला विराटनगरले भने किरा पहिचान भइसकेको र नियन्त्रणका लागि काम सुरु गरिने जनाएको छ ।

बाली संरक्षण प्रयोगशालाका निमित्त प्रमुख मुकेशकुमार यादवले प्रदेश सरकार र कृषि ज्ञान केन्द्र मार्फत तत्काल औषधी व्यवस्थापन गर्न र प्रयोग गर्न तत्काल जानकारी गराउने बताए । कृषि प्राविधीकका अनुसार फौजी किरालाई नियन्त्रण गर्न नसके यसले अन्नबालीमा ठुलो क्षति पुर्याउँछ । त्यसर्थ प्रदेश र स्थानिय सरकारल फौजी किराको नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न जरुरी देखिएको छ ।