देश

राजा वीरेन्द्रको शासन अन्त्य गर्न रअले यसरी चलाएको थियो विशेष अप्रेसन

काठमाडौं, भदौ १८–भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विंग (रअ) का पूर्व अधिकारीले नेपालमा राजतन्त्र अन्त्य गर्न तत्कालीन नेकपा (माओवादी) का सुप्रिमो अर्थात हाल सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालसँग सहकार्य गरेको बताएका छन् । रअका तत्कालीन विशेष निर्देशक अमर भूषणले हालै आफ्नो पुस्तक ‘इनसाइड नेपाल’ मार्फत यसबारे खुलासा गरेका हुन् ।

भूषणले आफ्नो पुस्तकमा दाहाललाई अन्य दलसँग मिलेर राजतन्त्रविरुद्ध आन्दोलनका लागि सहमत गराउन समय खर्चिएको बताएका छन् । पुस्तकमा भूषणले सन् १९९० मा नेपालमा राजाको प्रत्यक्ष शासन अन्त्य गर्दै संवैधानिक राजतन्त्रतको स्थापनाका लागि रअले विशेष अप्रेसन सञ्चालन गरेको उल्लेख छ ।

भूषणले पुस्तकमा रअको पूर्वी व्युरो प्रमुखको छाया नाम जीवननाथ उल्लेख गरेका छन् र उनले राजा वीरेन्द्रको शासन अन्त्य गर्न १९८९ देखि १९९० सम्म रअको विशेष अप्रेसन सञ्चालन गर्दै त्यसलाई सशक्त बनाउने र गुप्तचरको भर्ना गर्नेलगायत काम गरेको उल्लेख गरेका छन् । यो समाचार आजको नागरिक दैनिकले छापेको छ ।