देश

मोबाइल चोरी गर्ने गिरोहका तीनजना पक्राउ

भक्तपुर, भदौ १८–महानगरीय प्रहरी भक्तपुरले मोबाइल चोरी गर्ने गिरोह पक्राउ गरेको छ । चाँगुनारायण नगरपालिका खरिपाटीका राजकुमार लामिछानेलाई १० थान मोबाइल सेटसहित पक्राउ गरे सँगै अन्य दुई पनि प्रहरी फन्दामा परेका हुन् । महानगरीय प्रहरी वृत्त जगातिका अनुसार उनलाई सूर्यवनायक नगरपालिका वडा नंं ५ पाण्डुबजारबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका २२ वर्षीय लामिछानेबाट बिल भरपाई नभएका १० थान मोबाइल सेट बरामद गरिएको प्रहरीले जनाएको छ । उनलाई नियन्त्रणमा लिएपछि उनैले दिएको सूचनाको आधारमा काठमाडौं महानगरपालिका(३२ बाट सर्लाही जिल्लाको मलंगवा नगरपालिका वडा(४ का रञ्जितकुमार पण्डितलाई पनि नियन्त्रणमा लिएको थियो । प्रहरीले पण्डितले दिएको सूचनाको आधारमा भारतीय नागरिक सत्य प्रकाशलाई पनि नियन्त्रणमा लिएको छ ।

उनीहरुबाट बिना बिल भरपाईका बिभिन्न कम्पनिका ४२ मोबाईल सेट र नगद नेपाली रुपैयाँ ५५ हजार, भारतीय नागरिक सत्य प्रकाशको डीएल १ सीजेड ४५५३ नम्बरको कारबाट बिना बिल भरपाईका ४ मोबाईल थान र विभिन्न कम्पनीका ब्याट्री १८ थान, डिस्प्ले २ थान तथा भारतीय रुपैयाँ चार हजार आठ सय चालिससहित जम्मा ५६ थान मोबाईल र नगद ६२ हजार ७४४ रुपियाँ बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले यसको विषयमा थप अनुसन्धान भई रहेको प्रहरी नायब उपरीक्षक रेवती रमण पौडेलले जानकारी दिएका छन् ।