देश

आजदेखि ३ दिनसम्मको मौषम: चट्याङ्गसहित देशभर वर्षा

काठमाडौं, भदौ १८-आजको मौषम अपडेट अनुसार देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघ गर्जन र चट्यांगसहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्। कतैकतै भारी वर्षासमेत हुने मौषमविदहरुको अनुमान छ।

मनसुनी रेखा नेपालको पश्चिमी भूभागमा औसत स्थानभन्दा केही माथि र अन्य ठाउँमा औसत स्थान आसपास रहेको तथा बंगालको खाडीको उत्तर-पश्चिम भागमा विकसित न्युन चापीय प्रणालीका कारण देशभर मेघ गर्जनसहित हल्कादेखि मध्ययम वर्षा भइरहेको छ।

मौसम विज्ञान विभागले नियमित जारी गर्ने बुलेटिनमा लेखिए अनुसार हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना बुधबार, बिहीबार र शुक्रबार पनि छ। यसको प्रभावले पहाडि भु-भागमा पहिरोको जान सक्ने, हवाई तथा सडक यातायातमा समेत सामान्य अवरोध आउन सक्ने र नदीमा पानीको बहाव बढ्न सक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ।

बाढी पूर्वसूचना केन्द्रले गएराति २ बजे ट्वीट गरेर सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे र आसपासको स्थानमा भारी वर्षा मापन भएको र भोटेकोशी बाह्रबिसेमा जलसतह करिब १ मिटर बढेको उल्लेख गरेको छ।

साना खोलामा आकस्मिक बहाव हुनुको साथै सिन्धुपाल्चोकको कोदारी राजमार्ग र आसपास पहिरो जान सक्ने भएकाले यात्रामा सतर्कता अपनाउन पनि अनुरोध गरेको छ।

Featured