देश

रुपन्देहीमा डेंगु रोगका बिरामी बढ्दै, अहिले सम्म ४२ जनामा डेंगु भेटियो

बुटवल, भदौ १७–रुपन्देहीमा डेंगु रोगका बिरामी बढ्दै गएका छन् । जनस्वास्थ्य कार्यालयका अनुसार जिल्लामा अहिलेसम्म ४२ जनामा डेंगु रोग देखिएको छ । ५ वर्षका बालबालिकादेखि ७५ वर्षका वृद्धवृद्धासम्मलाई डेंगु रोग लागेको पाइएको स्वाथ्य कार्यालयले जनाएको छ ।

यस क्षेत्रमा मनसुन बल्ल सक्रिय भएकाले लामखुट्टेको टोकाइबाट फैलिने डेंगुको प्रकोप कात्तिक, मंसिरसम्म रहन सक्ने र यो महामारीका रूपमा फैलन सक्ने कार्यालयले जनाएको छ । ‘यो फैलिन सक्ने भएकाले हामीले सतर्कता अपनाएका छौं,’ जनस्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले भने ।

जिल्लामा पहिलोपटक साउन २८ गते एक जनामा डेंगु रोग देखिएको थियो । बुटवल हस्पिटल प्रालिमा ती बिरामीको चेकजाँच गर्दा डेंगु देखिएको हो । त्यसयता दैनिक दुईरतीन जनाका दरले डेंगुका बिरामी थपिँदै गएका छन् । डेंगु रोग लाग्नेमा पुरुषभन्दा महिला धेरै छन् ।

संक्रमितहरूको अहिले जिल्लाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । प्रादेशिक अस्पताल बुटवलमा मात्रै २६ जना संक्रमितको उपचार जारी छ । चिकित्सकहरूले पानी जम्ने ठाउँ पुर्ने, सुत्दा झुलको प्रयोग गर्ने, सचेतना फैलाउने, घरको झ्यालढोकामा जाली लगाउने र रोगको लक्षण देखिँदाबित्तिकै अस्पताल गएर उपचार गरे डेंगुबाट बच्न सकिने बताएका छन् ।

डेंगु एडिस एजेप्टाई र एडिस अल्बोपिक्टस नामका पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्छ । रुपन्देहीमा २०६७/०६८ मा पहिलोपटक डेंगुका बिरामी फेला परेका थिए । उक्त वर्ष रुपन्देहीमा मात्रै चार जनाको मृत्यु भएको थियो ।

यस्तै, २०७३/०७४ र २०७४/०७५ मा दुईरदुई जना गरी चार जनाको मृत्यु भएको थियो । डेंगु देखिएयता आठ जनाको मृत्यु भइसकेको छ । २०७४र७५ मा चितवन र रुपन्देहीमा महामारी नै फैलिएको थियो । ८ वर्षको अन्तरालमा रुपन्देहीमा करिब १५ सयमा डेंगु रोग लागिसकेको छ । प्रत्येक वर्ष डेंगु संक्रमित भेटिए पनि रुपन्देहीमा पछिल्लो दुई वर्षयता रोकथामका लागि बजेट आएको छैन । स्थानीय तहहरूले समेत रोकथामको प्रयास गरेका छैनन् ।