राजनीति

कांग्रेसले प्रदेश ३ का सात जिल्ला महाधिवेशन प्रतिनिधिलाई प्रशिक्षण दिँदै

काठमाडौं, भदौ १७–नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले प्रदेश ३ को सात जिल्लाका महाधिवेशन प्रतिनिधिको लागि भक्तपुरको बोडेमा आगामी २० र २१ भदौमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । प्रतिष्ठानले आयोजना गरेको दुई दिने प्रशिक्षण कार्यक्रमको संयोजन र व्यवस्थापन पार्टीको भक्तपुर जिल्ला कार्यसमितिले गर्नेछ । मध्यपुर ठिमी नगरपालिका ९, वोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा प्रशिक्षण आयोजना गरिएको प्रतिष्ठानले जनाएको छ ।

प्रशिक्षण कार्यक्रमको २० भदौमा कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने भएका छन् । प्रदेश ३ का १३ जिल्लामध्ये काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा र रामेछापका महाधिवेशन प्रतिनिधिहरु मात्र सहभागी हुनेछुहुने जनाइएको छ ।

प्रदेश ३ का बाँकी ६ जिल्ला रसुवा, नुवाकोट, धादिङ, चितवन, मकवानपुर र सिन्धुलीका महाधिवेशन प्रतिनिधिका लागि भने मकवानपुरमा प्रशिक्षण आयोजना गरिने भएको छ । प्रदेश १ को धनकुटा र मोरड, प्रदेश २ को जनकपुरधाम र वीरगञ्ज तथा सुदूरपश्चिम प्रदेशको कञ्चनपुरको भीमदत्त नगरपालिकामा महाधिवेशन प्रतिनिधिहरुका लागि केही समयपछि प्रशिक्षण मिति तय गरिने प्रतिष्ठानका सचिव मुक्ति आचार्यले जनाएका छन् ।

कांग्रेसले यसअघि गण्डकी प्रदेशको पोखरामा, कर्णालीका प्रदेशको सुर्खेतमा र पाँच नम्वर प्रदेशको बुटवलमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरिसकेको छ । कांग्रेसले आगामी भदौ २४ गतेदेखि दोश्रो चरणको प्रशिक्षण कार्यक्रम संचालन गर्ने घोषणा गरिसकेको छ ।

Featured