देश

सर्वसाधारणले पनि राष्ट्रिय झन्डा राख्न पाउने

काठमाडौं, भदौ १७–अब सर्वसाधारण नागरिकहरूले पनि आफ्नो घर, कार्यालयमा राष्ट्रिय झन्डा राख्न पाउने भएका छन् । गृह मन्त्रालयले एक सूचना प्रकासित गरि आमनागरिकले पनि राष्ट्रिय झन्डा राख्न पाउने व्यवस्था खुला गरेको हो ।

मन्त्रालयद्वारा मंगलबार प्रकासित सूचनाअनुसार संवैधानिक निकाय र सरकारी कार्यालय प्रमुखको कार्यकक्ष, गैर सरकारी संघसंस्था र नेपाली नागरिकले व्यक्तिगत रुपमा प्रयोग गर्ने राष्ट्रिय झन्डाको आकार ४ गुणा ३ फिटको हुनुपर्नेछ । यस्तै, नेपाली नागरिकले राष्ट्रिय उत्सव, महोत्सवहरूमा ३० गुणा २० सेन्टिमिटर आकारको झन्डा हातहातमा लिएर हिड्न सक्ने गृहको सूचनामा उल्लेख छ ।

आमनागरिकहरूले यसबाहेक ३ गुणा २ दशमलव ५ (अढाइ फिट)को झन्डासमेत प्रयोग गर्न पाउने छन् । गृहमन्त्रालयले हालै राष्ट्रिय झन्डासम्बन्धी कार्य्विधिमा संशोधन गरेर सर्वसाधारण नागरिकले समेत राष्ट्रिय झन्डा प्रयोग गर्न पाउने व्यवस्था गरेको हो । नयाँ कार्य्विधिमा राष्ट्रिय झन्डाको प्रयोगको नियमन र त्यसको गलत प्रयोग भएका अवस्थामा रोक लगाउने वा कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिइएको छ ।