देश

नेपाली सेनाद्धारा काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर

काठमाडौँ, भदौ १७–नेपाली सेनाले काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । नेपाली सेनाको श्री जगदल गणले स्थानीय सहीद गंगालाल प्रगति क्लबसँग सहकार्य गरेर मंगलबार काठमाडौं महानगरपालिका वडा नम्बर १५ स्थित शोभाभगवती मन्दिरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

सो स्वास्थ्य शिविरमा जेनेरल ओपीडी, रगत तथा सुगर परीक्षण र आँखा तथा दाँतको परीक्षण गरिएको थियो । सो स्वास्थ्य परीक्षणबाट ३ सय जनाभन्दा बढी सर्वसाधारण लाभान्वित भएको नेपाली सेनाले जनाएको छ । स्वास्थ्य शिविरको उद्घाटन गर्दै नेपाली सेनाका सहायक रथी प्रयोग जबराले नागरिकसँगको सम्बन्धलाई थप सुदृढ बनाउन निःशुल्क स्वास्थ्य शिविर संचालनको कामलाई निरन्तरता दिइएको स्पष्ट पारे ।

उनले सो सेवाबाट स्थानीय दर्शनार्थीहरु बढी लाभान्वित हुने विश्वास पनि व्यक्त गरे । उनले सो गणले काठमाडौंको थानकोट, मातातीर्थ, कीर्तिपुर, भीमढुंगामा पनि वातावरणीय संरक्षणका लागि वृक्षारोपणलगायतका काम गरिएको पनि स्मरण गराए । सो गणले सोही मन्दिर परिसरमा स्थानीयको सहयोगमा स्वास्थ्य चौकी पनि स्थापना गरेको छ ।