विराटनगर, भदौ १७ सुर्खेतको वीरेन्द्रनगर नगरपालिका कटकुवास्थित दैलेख सुर्खेत सडकखण्डको जंगलमा केहिदिन अघि मृत भेटिएका गाइगोरुको घटनामा संलग्नलाई कारवाहीको माग गर्दै डेढ दर्जन बढी संघसंस्थाले प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका छन् ।
उँ कार परिवारकारुपमा एकत्रित भएका ती संस्थाहरुले जिल्ला प्रशानसन कार्यालय मोरङ मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पठाएका हुन् । उनीहरुले सो घटनामा १८ गाई र ६ वटा गोरु मृत भेटिएको तथा सयौंको संख्याका गाइगोरुलाई भीरबाट लडाएर गम्भीर घाइते बनाइएको घटनामा संलग्नको पहिचान गरि कारवाही गर्न माग गरेका हुन् ।
हिन्दु जागरण नेपालका मोरङ सचिव कुशलकुमार निरौलाले घटनामा संलग्नको पहिचान गरि दोषीलाई प्रचलित कानुन अनुसार कारवाही गर्न माग गरे । उनले संबिधानको प्रस्तावना ९ (३) मा गाईलाई राष्ट्रिय जनावरकोरुपमा मानिएको बताउदै राज्यपक्ष गम्भीर भएर घटनाको अनुसन्धान र कारवाही गर्नुपर्ने बताए ।
प्रधानमन्त्रीलाई सम्बोधन गरि लेखिएको सो आशयको ज्ञापनपत्र सनातन धर्म सेवा समिति मोरङका अध्यक्ष शिवदत्त भट्टराईले मोरङका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीलाई बुझाएका थिए । ज्ञापनपत्र बुझदै सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले फ्याक्स मार्फत प्रधानमन्त्रीको सचिवालयलाई सो ज्ञापनपत्र पठाइने जानकारी दिए ।
ज्ञापन बुझाउन श्री लक्ष्मीनारायण मन्दिर पाञ्चालीका मठाधिश स्वामी अच्युत प्रपन्नाचार्य सहित हिन्दु जागरण नेपाल,बैदिक कर्मकाण्ड परिषद,ब्राम्हण समाज,निम्बार्क बैष्णव परिषद,बैष्णव युवा परिषद,जैन समाज र रामानन्दाचार्य सेवा पिठ चतराधाम सहित विभिन्न संघसंस्थाका प्रतिनिधि जिल्ला प्रशासन कार्यालय पुगेका थिए । दैलेख सुर्खेत सडकखण्डको जंगलमा गएको भदौ १२ गते २४ वटा गाइगोरु मृत र अन्य दजनौ घाईते अवस्थामा भेटिएका थिए ।
प्रतिक्रिया दिनुहोस