देश

पुरानो विल र विषदी परिक्षण प्रमाणपत्र देखाएर ल्याइदै गरेको तरकारि बरामद

विराटनगर, भदौ १७–पूरानो बिल र बिषादी परीक्षणको प्रमाणपत्रको आधारमा आयातगर्न लागिएको तरकारी प्रहरीले विराटनगरबाट बरामद गरेको छ ।

जोगबनीबाट विराटनगरतर्फ ल्याइदै गरेको ६ सय केजी तरकारी प्रहरीले आज बिहान बरामद गरेको हो । दुईसाता बढी पूरानो बिषादी परीक्षणको प्रमाणपत्र र बिलको आधारमा ब्यापारीले तरकारी ल्याइरहेको फेला परेपछि ४ ठेला तरकारी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरिक्षक घनश्याम श्रेष्ठले जानकारी दिए ।

बरामद गरिएका तरकारी विराटनगर भन्सार कार्यालयलाई बुझाएको उनले बताए । विराट आँखा अस्पताल नजिकैबाट प्रहरीले ४ वटा ठेलामा लोड गरिएको परवल, गोलभेडा,चटेल र खुर्सानी नियन्त्रणमा लिएको हो ।

बरामद गरिएको तरकारीको साउन ३० गते बिल काटिएको छ भने साउन ३१ गते विर्तामोडस्थित विषादी अवशेष द्र्रुत विश्लेषण प्रयोगशाला इकाईबाट बिषादी परीक्षण गरिएको प्रमाणपत्र तरकारी ल्याउदै गरेको ठेलाचालकसँग भेटिएको छ ।

बिल र बिषादीको प्रमाणपत्र दुइसाता पूरानो भएपनि विराटनगर भन्सार कार्यालयले भने आजैको मितिमा नियमानुुसारको राजश्व लिएर तरकारी नेपालतर्फ ल्याउन अनुमति दिएको देखिएको छ ।

विराटनगरस्थित राम ट्रेडर्सको नाममा सो तरकारी आयात गरिएको बरामद तरकारीको बिलमा उल्लेख छ । बरामद गरिएका तरकारी र बिलमा उल्लेख गरिएको परिमाण समेत फरकफरक छ । बिलमा कांक्रा, हरियो खोर्सानी र ओल उल्लेख नगरिएको भएपनि ती सामाग्रीहरु समेत ठेलामा लोड रहेको भेटिएको छ ।