देश

चर्चामा आउनकै लागि अभियुक्तमाथि गोली प्रहार

काठमाडौं, भदौ १७–कोहलपुर प्रहरीले चर्चामा आउनका लागि फरार अभियुक्तलाई पक्राउ गरी गोली हानेको आरोप लागेको छ । आठ वर्षअघि डाँका मुद्दामा ६ वर्ष कैद र २७ हजार जरिवाना तोकिएका बर्दिया बेलुवाका नरेन्द्र न्यौपानेलाई प्रहरीले पक्राउ गरेपछि सोमबार गोली हानेको प्रतक्ष्यदर्शीले बताएका छन् ।

कोहलपुर प्रहरी स्रोतका अनुसार न्यौपानेलाई नेपालगञ्ज भन्सार जमुनाह नजिकबाट प्रहरीले पक्राउ गरेको थियो । न्यौपानेलाई चोरीको मोटरसाईकल चढाएर प्रहरी सहायक निरीक्षक नरेन्द्र शाहीले चौकीतर्फ ल्याउँदै थिए ।

नेपालगञ्ज–२० राँझामा पुगेपछि मोटरसाइकलबाट झर्ने बेला हवल्दार टेकबहादुर पुनले गोली हानेको जनाइएको छ । कोहलपुर प्रहरी प्रमुख डिएसपी हेमबहादुर शाहीले जमुनाहबाट पक्राउ गरेर ल्याएको स्वीकारे पनि राँझामा पुगेपछि भाग्न खोज्दा प्रहरीले गोली हानेको बताए ।

केही दिन अघिमात्र शाही कोहलपुर प्रहरी प्रमुखको रुपमा सरुवा भएका हुन् । न्यौपानेको बायाँ खुट्टाका १ राउण्ड गोली लागेको छ । उनको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ । न्यौपाने समूहले बर्दियाको देउराली जंगलमा हतियार देखाएर संयुक्त राष्ट्रसंघको गाडीलाई लुटपाट गरेको अभियोग छ । उनलाई डाँका गरेको मुद्दामा जिल्ला अदालत बर्दियाले २०६८ साल पुस २१ गते आठ वर्ष कैद र जरिवानाको फैसाला गरेको थियो । उक्त घटनामा संलग्न दुई जना अझै फरार छन् ।

Featured