विदेश

भारतका पूर्वमन्त्रीमाथि भैंसी चोरेको मुद्धा

एजेन्सी, भदौ १७–भारतको उत्तर प्रदेशका प्रभावशाली नेता तथा सांसद आजम खानमाथि भैंसी चोरीको मुद्दा लागेको छ । उत्तर प्रदेश प्रहरीले कुनै समयमा प्रदेश सरकारमा उच्च हैसियत राख्ने आजम खानले चोरीसहित ७८ वटा मुद्दा दर्ता गराएको छ । सोमबारमात्र प्रहरीले खाजम खान, हसन खानसहित ६ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।

रामपुर प्रहरीका अधिकारी अजयपाल शर्माले भने, ‘केही मानिसले उनीमाथि धम्क्याएर घर फुटाएको र घरका सामान तथा पशुधन लुटेको आरोप लगाएका थिए । अनुसन्धानको क्रममा सो आरोप सही देखिन आयो । कुटपीट, धम्की दिएको र लुटपाट जस्ता आरोपमा खानसहित ६ जनाविरुद्ध मुद्दा दर्ता गरिएको हो ।’

यस प्रकरणमा आजम खानविरुद्ध केही मुद्दा यसअघि नै पनि दर्ता भएका थिए । अरु मानिसहरु पनि खानविरुद्ध मुद्दा दर्ता गर्ने तयारीमा रहेकाले अझै थप मुद्दा दर्ता हुनसक्ने बताइएको छ । यतीमखानामा उनको एउटा निर्माणाधीन विद्यालय जिल्ला प्रशासन कार्यालयले रोकिदिएको छ । यही स्कुलका लागि मानिसहरुको जमिन जबरजस्ती लिएको बताइएको छ ।

प्रहरीका अनुसार कोतवाली क्षेत्रको घोसियन थाना क्षेत्रमा बस्ने कमरले १५ अक्टोबर, २०१६ मा तत्कालीन क्षेत्रीय अधिकारी आले हसन खानले केही सिपाही र समाजवादी पार्टीका नेतासहित गएर घरमा घुसेर सामान निकालेर फालिदिएका थिए । एफआइआरमा घरमा बाँधिएका ४ वटा भैंसी समेत खोलेर लगेको आरोप छ । आजम खानविरुद्ध मुद्दाका संख्या लगातार बढिरहेका छन् । उनीविरुद्ध जमिन कब्जा, महिलामाथि अभद्र टिप्पणी गरेको, जातिवादी टिप्पणीगरेको लगायतका मुद्दा छन् ।

Featured