खेलकुद विदेश

कोहलीलाई उछिन्दै स्मीथ टेस्ट वरियताको शीर्ष स्थानमा

काठमाडौं, एजेन्सी, भदौ १७-भारतका कप्तान विराट कोहलीलाई उछिन्दै अस्ट्रेलियाका स्टीभ स्मीथ आईसीसी टेस्ट ब्याटसम्यानहरुको वरियताको शीर्ष स्थानमा उक्लेका छन्।

वेस्ट इन्डिजबिरुद्ध जमाइकामा खेलिएको टेस्टमा शुन्य रनमा आउट भएपछि कोहली दोस्रो स्थानमा खस्किएका हुन्।

यतिबेला कोहलीको टोली दुईमा दुई नै खेल जित्दै आइसीसी टेस्ट च्याम्पियनसीपको भने शीर्ष स्थानमा रहेको छ। उनले हालैमात्र महेन्द्रसिंह धोनीलाई उछिन्दै भारतको सबैभन्दा सफल कप्तान बनेका थिए।

योसँगै हेडिङ्लीको तेस्रो टेस्ट गुमाएका स्मीथले कोहलीलाई एक अंकले पछि पारेका छन्। बुधबारदेखि शुरु हुने चौथो एसेज टेस्टमा उनलाई थप दुरी बढाउने अवसर मिल्नेछ।

सन् २०१५ डिसेम्बरदेखि स्मीथ लगातार टेस्ट ब्याटिङको वरियतामा शीर्ष स्थानमा थिए। न्युल्याण्ड बल टेम्परिङमा प्रतिबन्ध खेपेपछि मात्र सन् २०१८ को अगस्तमा कोहलीले स्मीथलाई उछिन्न सकेका थिए।

प्रतिबन्धपछिको पहिलो टेस्ट शृङ्खलामा नै स्मिथले पुनः पहिलो स्थान कब्जा गर्न सफल भएका छन्। उनले पहिलो टेस्टमा दुई शतक र दोस्रो टेस्टमा ९२ रन बनाएका थिए। टेस्टमा उनको औसत ६३.२ रहेको छ।

२ अक्टोबरदेखि आफ्नो घरेलु मैदानमा दक्षिण अफ्रिकाविरुद्धको टेस्ट शृङ्खलामा कोहलीले स्मीथलाई टक्कर दिन सक्नेछन्।

स्मीथ र कोहलीपछि शीर्ष १० स्थानमा क्रमशः केन विलियमसन, चेतेश्वर पुजारा, हेनरी निकोल्स, जो रुट, अजिंका रहाने, टम लाथम, दिमुथ करुनारत्ने र एइडेन मारक्राम रहेका छन् ।

Featured