देश

जापान सरकारद्वारा औपचारिक रुपमा आप्रवासी कामदार भित्र्याउने प्रक्रिया शुरु, कात्तिकमा परीक्षा, ६० प्रतिशत अङ्क ल्याउनुपर्ने

काठमाडौं, रासस, भदौ १७-जापान सरकारले औपचारिक रुपमा विभिन्न १४ क्षेत्रमा नेपाललगायत अन्य ९ देशबाट आप्रवासी कामदार भित्रयाउने प्रक्रिया शुरु गरेको छ। पहिलो चरणमा जापानले केयर गिभरमा कामदार लैजाने तयारी गरेको हो।

जापानमा रोजगारी गर्न जापानी भाषा तथा सीप परीक्षा उतीर्ण गर्नुपर्ने छ। ‘स्पेसिफइड स्किल्ड वर्कश’अन्तर्गत जापानमा नर्सि¬ङ केयर गिभरमा जान चाहनेले नर्सिङ केयर र जापानी भाषा परीक्षा उतीर्ण गर्नुपर्ने जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले जनाएको छ।

नर्सिङ केयर गिभरमा जापान जान चाहनेले ‘नर्सिङ केयर स्किल इभ्यालुएसन टेस्ट’अन्तर्गत ६० मिनेटमा ४५ वटा प्रश्नको लिखित उत्तर दिनुपर्नेछ। जसमा ‘फन्डामेल्टल अफ केयर’को १०, ‘मेकानिजम अफ द माइन्ड एण्ड बडी’ को ६, ‘कम्युनिकेशन स्किल’को ४, ‘फिजिकल केयर’को २० र प्रयोगात्मक अभ्यासअन्तर्गत ५ वटा प्रश्नको उत्तर दिनुपर्नेछ । प्रयोगात्मक परीक्षा कम्प्युटर प्रणाली (सिबिटी) माध्यमबाट दिनुपर्नेछ।

यसैगरी परीक्षार्थीले ‘नर्सिङ केयर जापानीज ल्याङ्ग्वेज इभ्यालुएसन टेस्ट’अन्तर्गत ३० मिनेटमा १५ वटा प्रश्नको उत्तर दिनुपर्नेछ। जसमा ‘टेक्निकल टम्र्स अफ केयर’ ५, ‘कम्युनिकेशन अफ केयर’ ५ र ‘डकुमेन्ट अफ केयर’को ५ गरी १५ अङ्कको भाषा परीक्षा दिनुपर्नेछ।

भाषा र सीप परीक्षाका लागि एक हजार जापानी येन दस्तुर बुझाउनुपर्ने उल्लेख गरिएको छ। परीक्षासम्पन्न भएको एक महिनापछि नतीजा सार्वजनिक हुनेछ। कम्तीमा ६० प्रतिशत अङ्क प्राप्त गर्ने परीक्षामा उतीर्ण हुने जापानी श्रम मन्त्रालयले जनाएको छ।

कात्तिक १० देखि १२, कात्तिक १९ देखि २१ र कात्तिक २६ देखि २८ गतेसम्म परीक्षा सञ्चालन हुनेछ। परीक्षाका लागि कसरी आवेदन गर्ने भन्ने बारेमा आगामी असोज १५ गतेभित्र जानकारी दिइने बताइएको छ।

नेपाल सरकार र जापान सरकारबीच गत चैत ११ गते नेपाली श्रमिक पठाउनेसम्बन्धी ‘सहयोग समझदारी’ (एमओसी)मा हस्ताक्षर भएको थियो। जापानले १४ वटा कार्यक्षेत्रमा विदेशी श्रमिक भित्र्याउने नीति अख्तियार गरेको छ।

जापानले कृषि, नर्सिङ केयर, सवारी सधान मर्मत र सम्भार, खाद्य सेवा उद्योग, निर्माण उद्योग, खाद्य पदार्थ र पेय पदार्थको उत्पादन, आवास उद्योग, मेशिनरी पार्ट उद्योग, माछा मार्ने र माछापालन उद्योग, औद्योगिक उपकरण उद्योग, इलेक्ट्रिक, इलेक्ट्रोनिक्स र सूचना प्रविधि उद्योग, बिल्डिङ सरसफाइ व्यवस्थापन, जहाज र जहाज पाटपूर्जा उद्योग एवं हवाई उद्योगमा श्रमिक लिने जनाएको छ।

नेपाली श्रमिकलाई १४ वटै कार्यक्षेत्रमा खुला गरिएको भएता पनि कुन कुन क्षेत्रमा के कति सङ्ख्यामा नेपाली श्रमिकको माग हुने हो भन्ने विषय निश्चत हुनु बाँकी रहेको श्रम मन्त्रालयले जनाएको छ।

Featured