खेलकुद देश

राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिसलाई

पोखरा, भदौ १७–विभागीय टोली नेपाल पुलिस क्लबले राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । पोखराको लामाचौर तीज महोत्सव २०७६ को अवसरमा आयोजित प्रतियोगिताअन्तर्गत सोमबार भएको फाइनल खेलमा पुलिसले हङ वाङगी न्यू–डाइमन्ड एकेडेमी काठमाडौंलाई सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो ।

कोपिला उप्रेतीको कप्तानीमा मैदान उत्रिएको पुलिसले ललिता नाथको कप्तानीमा मैदानमा उत्रिएको न्यू–डाइमन्डलाई २५–१६, २५–१४ र २५–२० को सेटमा पराजित गरेको हो । प्रतियोगिताका उपाधि पुलिसले दोस्रोपटक जितेको हो । प्रतियोगितामा ६ टिमको सहभागिता थियो ।

नव आदर्श सामुदायिक विकास समाज लामाचौरको आयोजनामा इन्द्रराज्य लक्ष्मी माविको परिसरमा सोमबार तेस्रो स्थानका लागि भएको प्रतिस्प्रर्धामा घरेलु टिम गण्डकी प्रदेशले जितेको छ । गण्डकी प्रदेशले श्रीराम खेलकुद विकास समिति दाङलाई हराएको हो । प्रतियोगितामा विजेता टोलीलाई १ लाख १५५, उपविजेतालाई ६५ हजार ५ रुपैयाँ र तेस्रो हुनेलाई २५ हजार ५ रुपैयाँ प्रदान गरिएको छ ।