देश

कीर्तिपुरमा पहिलो होमस्टे सञ्चालनमा

काठमाडौं, भदौ १७–कीर्तिपुरको मध्यकालीन बस्तीको टुप्पोमा छ, चिलञ्च्व विहार । चिलञ्च्वको पूर्वी फेदमा जोशी ननी टोल पर्छ । यो टोलबासी यतिबेला होमस्टे सञ्चालनमा जुटेका छन्।

समुदाय स्तरमा जोशी ननी कम्युनिटी होमस्टे सञ्चालनमा ल्याइएको होमस्टेका अध्यक्ष शरद् मङ्गल जोशीले जानकारी दिए। सम्पूर्ण तयारी लगभग सकेकाले केही दिनमा नै पूर्ण क्षमतासहित सेवा दिन सुरु गरिने उनले बताए। समुदायले सञ्चालनमा ल्याएको यो कीर्तिपुरकै पहिलो होमस्टे हो।

कीर्तिपुर वडा नं. १० स्थित जोशी ननी र सिन्ध्वा टोलबासी मिलेर यो सामुदायिक होमस्टे सञ्चालनमा ल्याएको हो । अहिलेसम्म १३८ जना टोलबासीले होमस्टेमा साझेदारी गरेका छन्।

अहिले एउटा पुरानो घरको १५ कोठाको आवास सुविधासहित सुरु गरिएको होमस्टे विस्तारै टोलका अन्य घरमा पनि विस्तार गरिने अध्यक्ष जोशीले बताए। ‘‘अन्य घरमा पनि सरसफाइ गरी पाहुना बस्ने खालका कोठाहरू तयार गर्दै विस्तार गर्नेछौँ,’’ उनले भने। यो समाचार आजको गोरखापत्रले छापेको छ ।