देश

किन झस्किए नेताहरू ?, ’चिहानको हड्डी’ सलबलाएकै हो ?

काठमाडौं, भदौ १७–नेकपा प्रचार विभाग प्रमुखसमेत रहेका प्रवक्ता नारायणकाजी श्रेष्ठ गणतन्त्र खतरामा नपरेको तर्क गर्छन्। ‘गणतन्त्र खतरामा र्पयो भनेर किन बोल्दै हिँड्न परेको हाम्रा वरिष्ठ नेताहरूलाई ? कुनै पनि प्रणाली त्यतिबेला खतरामा पर्छ, जतिबेला हामी राम्रो काम गर्दैनौं। जनताको आकांक्षा पूरा गर्न सक्दैनौं।’

काम भएको अनुभूति जनताले नपाउने हो भने कुनै पनि प्रणाली खतरामै पर्ने उनले बताए। श्रेष्ठले भने, ‘ठूलो संघर्षपछि प्राप्त उपलब्धिलाई संस्थागत गर्दै जाऊँ भन्ने मेरो धारणा हो। म अहिल्यै गणतन्त्र खतरामा परेको देख्दिनँ। हामी कामै गर्न नसक्ने, जताततै अलमलमा पर्ने हो भने त्यो सम्भावना बढ्दै जान्छ।’

उनले यतिबेला राजतन्त्रै नआए पनि अन्य शक्तिहरू हाबी हुन सक्ने बताउँछन्। उनले भने, ‘दलहरूले यस्ता विषयमा बेलैमा सोच्नुपर्छ। जनतालाई अलमलमा परेर यस्तो खतरा उस्तो खतरा भन्नु हुन्न।’

महासचिव विष्णु पौडेल पनि नेताहरूले समग्र विषयमा कुरा गर्दा यस्ता चलखेल पनि हुन सक्छ है भनेर संकेत मात्र गरेको बताउँछन्। ‘संविधान र व्यवस्थाविरुद्ध खतरा भयो भन्ने नेताहरूको धारणा होइन। चलखेल गर्न सक्छन् भन्ने संकेत मात्र गर्न खोज्नुभएको हो,’ महासचिव पौडेलले अन्नपूर्णसँग भने, ‘नेताहरूले यो विषय त्यति गम्भीर भएर उठाएका हैनन्।’

पार्टीका आन्तरिक छलफल र बैठक बाहिर नेताहरुले यस विषयमा सामान्य टिप्पणी मात्र गरिएको बताए पनि भित्री रूपमा भने चलखेल बढेको भन्दै गम्भीर छलफल चलाएको देखिन्छ।

सामाजिक सञ्जालमा पार्टी नेतृत्व र सरकारविरुद्ध गरिएको प्रचारबाजी, जनतामा बढ्दो निरासा र सामान्य घटनालाई पनि ठूलो बनाउन गरिएको अनेक खाले चलखेल लगायतलाई आधार मानेर नेकपाले यसभित्र व्यवस्थाविरोधी शक्तिहरूको चलखेल रहेको ठानेको छ। यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।