देश

दूध उत्पादनमा अनुदान प्रभावकारी बन्दै

रत्ननगर, भदौ १६–प्रतिलिटर दूध उत्पादनमा तीन रूपैयाँ अनुदान उपलब्ध गराउने माडी नगरपालिको निर्णय प्रभावकारी देखिएको छ । गत आवदेखि लागु गरिएको अनुदानको व्यवस्थाले यहाँका कृषक पशुपालनतर्फ आकर्षित हुँदै गएका छन् ।

कृषकलाई पशुपालनमा प्रोत्साहन गर्न नगरपालिकाले आफ्नो आन्तरिक आयबाट हरेक वर्ष ६० लाख रूपैयाँ विनियोजन गर्दै आएको छ । कृषकलाई गत आवमा अनुदानबापत ३६ लाख ५० हजार रूपैयाँ उपलब्ध गराएको माडी पशुसेवा शाखाका प्रमुख मोहन रानाभाटले जानकारी दिए । कृषक पशुपालनतर्फ आकर्षित भएसँगै माडीमा दूध उत्पादनमा वृद्धि भएको छ । अहिले यहाँ दैनिक छ हजार लिटर दूध उत्पादन भइरहेको छ । यस अघि दैनिक दुई हजार लिटर दूध उत्पादन हुने गरेको थियो ।

शाखा प्रमुख रानाभाटका अनुसार खरिद गरिएको दूधको तथ्यांकअनुसार कृषकलाई अनुदान दिइएको हो । दूधको उत्पादन वृद्धि भएसँगै स्थानीय बजारमा माग बढेको उनको भनाइ छ । दूध उत्पादनको लागत घटाउन नगरपालिकाले घाँसमा आधारित पशुपालनलाई प्राथमिकता दिएको छ । माडी नगरपालिका र कृषि विकास बैंकको संयुक्त सहकार्यमा कृषकले साढे चार प्रतिशतमा कर्जा पाउने भएपछि उनीहरु पशुपालनतर्फ आकर्षित भएका नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालले जानकारी दिए । ‘प्रभावकारी देखिएपछि दूध उत्पादनमा पनि अनुदानको व्यवस्था गरेका छौँ,’ उनले भने ।

स्थानीय कृषक सूर्यप्रसाद भुसालले उत्पादनमा आधारित अनुदान भएकाले कृषकलाई प्रोत्साहित गरेको बताए । उनले अनुदानका कारण माडीमा घट्दै गएको दूध उत्पादन बढेको बताए । उत्पादनका आधारमा दिइने अनुदान वास्तविक कृषकसम्म पुग्नुपर्नेमा भुसालले जोड दिए । हाल नगरपालिकाले उपलब्ध गराउँदै आएको प्रतिलिटर ३ रूपैयाँलाई बढाएर १५ रूपैयाँ र्पुयाउन उनले नगरपालिकासँग माग गरे ।

नगरपालिकाले दूध उत्पादक कृषकलाई प्रोत्साहन दिन कृषि विकास बैंकसँगको सहकार्यमा साढे चार प्रतिशतका दरले ११ करोड रूपैयाँ सहुलियत कर्जाको व्यवस्था गरेको छ । यहाँ ५० भन्दा बढी कृषकले व्यावसायिक रुपमा गाई र भैँसीपालन गर्दै आएका छन् । चितवन देशकै धेरै दूध उत्पादन हुने ठाउँमध्ये पर्छ । यहाँ दैनिक तीन लाख लिटर दूध उत्पादन हुन्छ । (रासस)

Featured