देश

डडेल्धुरामा दुई हप्तामा स्क्रब टाइफसका २७ बिरामी

डडेल्धुरा, भदौ १६–रकारले देशका पूर्वी भाग तथा तराईका केही क्षेत्रमा डेंगु रोग नियन्त्रण गर्न प्रयास गरिरहेका बेला पश्चिम पहाडी जिल्लामा स्क्रब टाइफस फैलिएको छ ।

डडेल्धुरामा भदौमा मात्रै १ सय २८ शंकास्पद बिरामीलाई जाँच गर्दा २७ जनामा स्क्रब टाइफस पोजेटिभ फेला परेका छन् । ‘हामीले शंका लागेका १ सय २८ लाई जाँच गर्यौं, तीमध्ये १ सय १ जनामा नेगेटिभ र २७ जनामा रोगको संक्रमण देखा परेको छ,’ डडेल्धुरा अस्पतालका प्रयोगशाला प्रमुख ईश्वरीप्रसाद भुसालले भने ।

डडेल्धुरा अस्पतालमा बझाङ, बैतडी, डोटी, दार्चुलाका बिरामी आउने गरेकाले संक्रमित २७ डडेल्धुराका मात्रै नभएर अन्य जिल्लाका पनि रहेका प्रयोगशाला प्रमुख भुसालले बताए ।

किटजन्य रोगबाट सचेत रहन आग्रह
गत वर्ष डडेल्धुराको अजयमेरुमा पहिलो पटक देखा परेको स्क्रब टाइफस वर्षातको समयमा अन्य पहाडी जिल्लामा पनि देखा पर्न थालेको छ । गत साल सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा ५० जनामा स्क्रबटाइफस रोगको संक्रमण देखा परेको डडेल्धुरा अस्पतालको तथ्यांक रहेको छ । तीमध्ये दुई जनाको मृत्यु भएको थियो ।

पछिल्लो समय किटजन्य रोगको महामारी पहाडी जिल्लामा फैलिन थालेको छ । गत साउनमै डडेल्धुरामा कालाजार रोगको बिरामी भेटिएका थिए । जिल्लाको उत्तरपूर्र्वी क्षेत्रका अजयमेरु गाउँपालिका– ६ का २१ वर्षीय वीपी जोशीलाई कालाजारको संक्रमण देखापरेको थियो ।

कालाजार र स्क्रब टाइफस किटजन्य रोग भएकोे प्रयोगशाला प्रमुख भुसालले बताए । स्क्रब टाइफस लागेमा ज्वरो आउने, मांसपेशी दुख्ने, अत्यधिक टाउको दुख्ने, पसिना आउने, खोकी लाग्नेजस्ता लक्षण देखापर्ने डडेल्धुरा अस्पतालका डाक्टर उत्तम भट्टले बताए ।

स्क्रब टाइफसको प्रमुख लक्षण छलामा घाउ देखिने भए पनि डडेल्धुरा अस्पतालमा धेरैजसो टाउको दुख्ने, आँखाको नानी दुख्ने, सुख्खा खोकी लाग्ने, ज्वरो आउने लक्षणका बिरामी आउने गरेको मेडिकल सुपरिटेन्डन्ट जितेन्द्र कँडेल बताए ।

व्यक्तिगत स्वास्थ्यमा ध्यान नदिँदा यो रोगको संक्रमण बढ्ने भएकाले पुरै शरीर ढाक्नेगरी लुगा लगाउने, खुल्ला ठाउँमा शौच नगर्न र स्क्रब टाइफसका उल्लेखित लक्षणमध्ये कुनै पनि देखापरेमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा गई चिकित्सकसँग परामर्श लिन उनले सुझाव दिए । यसपटक किटजन्य रोगले सताएको भन्दै आम सर्वसाधारणलाई सचेत रहन मेसु कँडेलले सुझाए ।

रोगको संक्रमण अझ धेरै मानिसमा भएको हुनसक्ने आशंका छ । अहिले देखिएको संक्रमण संख्या अस्पताल डडेल्धुरामा परीक्षणका लागि ल्याइएका केसमात्रै भएको भन्दै अन्य जिल्लाका दुर्गम भेगहरुमा यो संख्या अझ बढी हुन सक्ने सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले बताएको छ ।