देश

उपनिर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन आयोगको आह्वान

काठमाडौं, भदौ १६–निर्वाचन आयोगले आगामी मंसिर १४ गते हुने संघ, प्रदेश र स्थानीय तहको उपनिर्वाचनमा भाग लिनका लागि राजनीतिक दल दर्ता गर्न आह्वान गरेको छ । निर्वाचन आयोगले २०७४ सालमा सम्पन्न संघ, प्रदेश र स्थानीय तहको निर्वाचनमा भाग लिएका राजनीतिक दलबाहेकलाई उपनिर्वाचनको प्रयोजनका लागि दल दर्ताको आह्वान गरेको हो ।

२०७४ सालको निर्वाचनमा भाग लिएका राजनीतिक दलहरुले भने दल दर्ता गरिरहन नपर्ने निर्वाचन आयोगका प्रवक्ता शंकरप्रसाद खरेलले जानकारी दिए । आयोगको व्यवस्थाअनुसार तत्कालीन एमाले र माओवादी केन्द्र एकीकरण भई बनेको सत्तारुढ नेकपाले पनि उपनिर्वाचनको प्रयोजनका लागि दल दर्ता गराउनुपर्ने हुन्छ ।

आयोगका प्रवक्ता खरेलले निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिने म्याद यही भदौ मसान्तसम्म कायम गरिएको पनि स्पष्ट पारे । निर्वाचन आयोगले दल दर्ताका लागि राजनीतिक दलहरुले आफ्नो वार्षिक लेखा परीक्षण प्रतिवेदन अनिवार्य रुपमा बुझाउनुपर्ने पनि जनाएको छ ।

त्यसैगरी दलको विधान, नियमावली, घोषणा पत्र, निर्वाचन चिन्ह पनि दल दर्ताको लागि दिइएको निवेदनमा समावेश गर्नुपर्ने कानुनी व्यवस्था रहेको आयोगका प्रवक्ता खरेलले बताए । विभिन्न कारणले रिक्त रहेका संघ, प्रदेश र स्थानीय तहको ५१ वटा पदमा उपनिर्वाचन हुँदैछ ।

Featured