देश

एटीएम ह्याक प्रकरण : चीनले भन्यो, ‘अनुसन्धानमा सघाउँछौं’

काठमाडौं, भदौ १६–नेपाली बैंकको सिस्टम ह्याक गरी एटीएमबाट पैसा चोर्दै गर्दा पक्राउ परेका चिनियाँ नागरिकलाई काठमाडौंस्थित चिनियाँ दूतावासका फर्स्ट सेक्रेटरी फाङ सोइलिङले भेट गरेका छन् ।

फाङले महानगरीय प्रहरी परिसर पुगेर पक्राउ परेका ६ जनालाई भेटेका हुन् । शनिबार राति र आइतबार गरी प्रहरीले ६ चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । चोरीमा संलग्नहरुले गलत गरेको भए पनि चीनमा रहेका आफन्तलाई उनीहरुको अवस्थाबारे जानकारी दिन आफूले भेट गरेको फाङले बताए ।

उनले नेपाल प्रहरीलाई अनुसन्धानमा सघाउने प्रतिबद्धता पनि जनाएका काठमाडौं प्रहरी परिसरका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए । शनिबार नविल बैंकको दरबारमार्ग्स्थित एटीएम बूथमा प्रभु बैंकको सिस्टमबाट अस्वाभाविक रुपमा रकम निकालेको थाहा पाएपछि प्रभु बैंकका एक कर्मचारीले प्रहरीलाई खबर गरेका थिए ।

लगत्तै अपरेसनमा खटिएको प्रहरी टोलीले शनिबार नै पाँच जनालाई पक्राउ गरेको हो भने आइतबार थप एकजनालाई पक्राउ गरेको हो । यो घटनामा चिनियाँ ह्याकरको पैसा गैरकानुनी रुपमा सटही गरेको आरोपमा प्रहरीले ठमेलस्थित दुई मनि एक्स्चेञ्जरका तीन जनालाई पनि पक्राउ गरेको छ ।

Featured